अर्जुन कार्की
बागलुङ, ४ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीको इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्वकप छनोटका बाँकी ३ खेलको लागि मंगलबार २३ सदस्यीय अन्तिम टोली घोषणा भएको छ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले घोषणा गरेको २३ सदस्य अन्तिम टोलीमा बागलुङका कमल थापाले पनि स्थान बनाएका छन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका थापा एन्फा एकेडेमीका उत्पादन हुन् ।
मिडफिल्ड पोजिसनबाट खेल्ने थापा बन्द प्रशिक्षणमा परेको पहिलो पटकमै राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका हुन् । थापा बागलुङबाट राष्ट्रिय फुटबल टिममा स्थान बनाउने पहिलो खेलाडी बनेका छन् । उमेर समुहमा थापा सहित अन्य खेलाडीहरुले देशको प्रतिनिधित्व गरिसकेपनि राष्ट्रिय टिमको बन्द प्रशिक्षण र टिममा पर्न भने कोहि सकेका थिएनन् ।
विमल घर्ती मगर, अनन्त तामाङ अन्जन विष्ट लगायत खेलाडीको ब्याचका उनी काठमाडौंको एन्फा एकेडेमीका उत्पादन हुन् । उमेर समुह अन्तरगत अन्डर–१३ मा इरानमा खेल्न गएका थापा अन्डर–१६ मा कोरियामा कोरियासँगको मैत्रीपूर्ण खेलमा स्थान बनाएका थिए ।

घरेलु फुटबलमा हिमालयन शेर्पाबाट खेल्दै आएका थापा मिडफिल्डमा निकै छरिता र कठिन अवस्थामा पनि उच्च कोटीको पास निकाल्न सक्ने क्षमता छ । थापाले ए डिभिजन लिगमा हिमालय शेर्पाबाट खेल्दै डुब्यु गरेका थिए । उनी जिल्लाबाट ए डिभिजन लिग खेल्ने दोस्रो खेलाडी हुन् । थापाले भन्दा पहिले ए डिभिजन लिगमा फ्रेन्डस क्लबबाट आशिष केसीले डेब्यु गरेका थिए ।
जिल्ला फुटबल संघ बागलुङको बागलुङ-११ टिमका कप्तान समेत रहेका थापा हालै काठमाडौंमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगि खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्सबाट खेलेका थिए । एनएसएलमा उनलाई पोखरा थन्डर्सले भिषण गुरुङको स्थानमा ल्याएको थियो । भिषणलाई लिगअघि नै कोरोना संक्रमण भएपछि उनी अन्तिम तीन खेलमा उपलब्ध थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेपनि उनको खेल्ने शैलीबाट प्रशिक्षक प्रभावित भएर बन्द प्रशिक्षणमा परेका थिए ।
थापा अनुशासित र उत्कृष्ट खेलाडी रहेको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो । उहाँले बागलुङको खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउनु जिल्लाको गौरवको विषय रहेको बताउँदै फुटबल संघ खुसी भएको बताउनुभयो । ‘यो जिल्लाको लागि पनि खुसीको कुरा हो,’ अध्यक्ष गुरुङले भन्नुभयो–‘उत्कृष्ट खेल्ने कौशलको थापा कारण एन्फा एकेडेमीमा छनोट भएर उमेर समुहमा देशको प्रतिनिधित्व गरिसकेका थिए, अहिले राष्ट्रिय टिममा पनि स्थान बनाउँदा जिल्लाको गौरव बढेको छ ।’
थापा सम्मेलित राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।
नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।
यो पनि पढ्नुहोस : बागलुङका कमल पहिलो पटक राष्ट्रिय फुटबल टिममा छनोट









