एक :
यस्तो महँगीमा पनि कस्तो होला यो जिन्दगी
सोच्या थिएँ आफूभन्दा सस्तो होला यो जिन्दगी ।
सुखीलाई सुन-चाँदी दु:खीलाई जून-तारा,
बाँडीचुँडी यसैगरी बस्दो होला यो जिन्दगी ।
आफैंलाई खोज्दाखोज्दा वाक्कदिक्क भएपछि,
सुटुक्क नै मेरो घरमा पस्दो होला यो जिन्दगी ।
भिर-पाखा, डाँडाकाँडा, टाँकुरा नै टेके पनि,
आफ्नै घरको झ्यालबाट खस्दो होला यो जिन्दगी ।
भोको पेट सजिएर हिँड्नुपर्ने दुनियाँमा,
जोगी भए पनि चिल्लो घस्दो होला यो जिन्दगी ।
दुई :
टाउको टेकी हिंड्दाखेरि खुट्टा माथि बस्दो रै’छ
अनि पो त पाउको धूलो आँखाभरि खस्दो रै’छ ।
धर्म-कर्म ज्ञानगुनका कुरा गर्ने साधु देख्दा,
डाँका हो कि नेता भन्ने मनमा चोर पस्दो रै’छ ।
जतिसुकै रोए पनि आँखा नै त दुख्छ होला,
सर्पले त हैन होला मान्छेले नै डस्दो रै’छ ।
हेर तिमी आफूलाई ऐनाभित्र नियालेर,
दाँजिएर हेर तिमी ऐना आज कस्तो रै’छ ।
जन्म यहाँ मृत्युको नै हुन्छ तर जीवन भने,
नियालेर हेर्दाखेरि ठ्याक्कै मनु जस्तो रै’छ ।
तीन :
विरोधीको विरोधले बाटो देखाउँछ
आकाशमा उड्नेलाई माटो देखाउँछ ।
सौन्दर्यको परिभाषा कति खोजिराख्नु,
विश्वसुन्दरीकै मुखमा टाटो देखाउँछ ।
ऐना हेर गेरुवस्त्र लाउने बाबाजी,
तिम्रो जिन्दगीको अर्को पाटो देखाउँछ ।
जात, धर्म सोधीसोधी नबनाऊ साथी,
यल्ले झनै आपस्तमा फाटो देखाउँछ ।
चोरैचोरको जमानमा चोरहरुले नै,
अरुलाई चोर आफ्नो साटो देखाउँछ ।
धेरै बोलीबोली तिमी धेरै माथि पुग्यौ,
नबोल्नेले आफ्नो मनको खाटो देखाउँछ ।
(यी गजलहरु ब्राजाकीको गजलसंग्रह ‘आगोले त पोल्छ पोल्छ पानीले झन् पोल्छ’ बाट साभार गरिएका हुन् ।)