बागलुङमा जुवा खेलिरहेको अवस्थामा रास्वपा नेतासहित ९ जना पक्राउ

बागलुङ, १७ कार्तिक । बागलुङमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर ९ जनालाई १ लाख ६४ हजार रुपियाँ नगद र ४३८ पत्ती ताससहित नियन्त्रणमा लिएको जनाएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ निवासी खड्का रास्वपाका क्षेत्रीय सभापति समेत हुन् ।

पक्राउ पर्नेमा ६४ वर्षीय खड्का सहित बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ३५ वर्षीय हरि शर्मा, ५० वर्षीय दुर्गा बहादुर खत्री, वडा नं. ३ का ६६ वर्षीय भीम बहादुर खत्री र ६६ वर्षीय डम्मर बहादुर भण्डारी, वडा नं. ८ का ५६ वर्षीय केशव पराजुली तथा वडा नं. १ का ५५ वर्षीय राजु गौतम रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपि) रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार दिउँसो ४ बजे बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित रास्वपा नेता अमर खड्काको तीनतले पक्की घरको तेस्रो तलामा जुवा तास खेलिरहेको गोप्य सूचना प्राप्त भएको थियो । सूचनापछि प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले उक्त स्थानमा छापा मार्दा ९ जनालाई जुवा खेलिरहेको अवस्थामा फेला पारेको जिप्रका बागलुङका डिएसपि त्वातीले जानकारी दिनुभयो ।