
काठमाडौं, १३ कार्तिक । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूको धरपकड गरेको छ । तीन जना पत्रकारलाई पक्राउ गरेको प्रहरीले कम्तिमा तीन जना अरू पत्रकारको खोजी गरिरहेको छ ।
पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल छन् । त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ।
प्रहरीले केही सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने अन्य कार्यालयमा पुगेर पत्रकारहरूको खोजी गरेको छ । शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरेको हो । कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेर लगेका थिए। त्यसपछि उनलाई साइबर ब्युरोमा बुझाइएको छ ।
प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरेको जनाएको छ । तर उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन ।
त्यस्तै, डिएनए खबरका प्रधान–सम्पादक बस्नेतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनलाई सुरूमा ‘इसेवा नम्बरको विषयमा बुझ्नुछ’ भन्दै फोन गरिएको थियो । सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका बस्नेतलाई त्यहीँ नियन्त्रणमा राखिएको हो ।
‘समस्या देखियो भनेर फोन गरे । ठिकै छ, केही न केही समस्या देखिएकै होला भनेर गएको थिएँ । अहिले मलाई यहाँ नियन्त्रणमा राखियो,’ बस्नेतले सेतोपाटीसँग भने, ‘मसँगै मोटिभेट न्युजका शोभराजजी पनि हुनुहुन्छ ।’ प्रहरीले बस्नेत र बराललाई कुन कसुरमा नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट पारेको छैन ।
यसैबीच प्रहरीले अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा पुगेर प्रधान–सम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीको खोजी गरेको छ । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको कमान्डमा चार जनाको प्रहरी टोली दियोपोस्टको कार्यालय पुगेको हो ।
दियोपोस्टका समाचार संयोजक मदन ढुंगानाका अनुसार प्रहरी टोली कार्यालय परिसरमा प्रवेश गरेको थियो। टोलीले कार्यालयमा कार्यरत पत्रकारहरूको मोबाइल समेत नियन्त्रणमा लिएर हेरेको जानकारी आफूले पाएको उनले बताए । ‘म, प्रधान सम्पादक र सम्पादक बाहिर छौं । अफिसमा चार जना प्रहरीको टोली आएको र साथीहरूको मोबाइल हेरिरहेको भनेर भन्नुभएको छ,’ ढुंगानाले भने ।
सम्पादक बुढाथोकीका अनुसार यसअघि उनलाई र प्रधान–सम्पादक विश्वकर्मालाई फोन गरेर ठेगाना सोधिएको थियो । ‘तपाईंको ठेगाना के हो?’ भनेर फोन गर्ने व्यक्ति शंकास्पद लागेको उनले बताइन् ।
त्यस्तै, प्रहरी टोली नयाँ पत्रिकाको समाचार कक्षमै पुगेर पत्रकार नवराज मैनालीको पनि खोजी गरेको छ ।
यसरी एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने क्रम चले पनि यी सबै घटनाबीच सम्बन्ध छ कि छैन भन्ने खुलेको छैन।
प्रहरीले कुन पत्रकारलाई कुन घटनामा अनुसन्धान गर्न खोजेको हो, उनीहरूविरुद्ध उजुरी परेको छ कि छैन र पक्राउ गर्नुपर्ने आधार के हो भन्नेबारे पनि सबै घटनाको स्पष्ट विवरण सार्वजनिक गरेको छैन । पत्रकार पक्राउ गर्ने तथा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर मोबाइल जाँच गर्ने घटनाले पत्रकारको गोपनीयता, समाचार स्रोतको संरक्षण र प्रेस स्वतन्त्रतासम्बन्धी प्रश्न समेत उठाएको छ ।
यसअघि बिहीबार प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्वबारे प्रकाशित समाचार र टिप्पणीप्रति आपत्ति जनाउँदै भ्रामक सूचना सम्प्रेषण गर्नेमाथि अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो ।
प्रहरीले विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा असर पर्न सक्ने बताएको थियो। तर शुक्रबारको धरपकड त्यही चेतावनीसँग सम्बन्धित हो वा अलग अलग अनुसन्धान क्रममा भएको हो भन्ने प्रहरीले स्पष्ट पारेको छैन ।








