
बागलुङ, १३ असोज । अविरल वर्षापछि आएको पहिरो र गेग्रानसहितको बाढीले बस्ती जोखिममा परेपछि काठेखोला गाउँपालिका–२ भीमापोखराको डहरेका ६ घरपरिवार विस्थापित भएका छन् ।
बस्तीमाथिबाट आएको पहिरो र गेग्रानसहितको बाढी घरभित्र पसेपछि अति जोखिममा रहेका ६ परिवारलाई वडा कार्यालयमा सारेर आश्रय दिइएको वडाध्यक्ष विद्यापति शर्माले जानकारी दिनुभयो ।वडाध्यक्ष शर्माका अनुसार डहरे कुनाघरका १२ घर पहिरोको जोखिममा रहेका छन् । तीमध्ये ६ घरपरिवार अति जोखिममा परेपछि अस्थायी बसोबासको लागि वडा कार्यालयमा आश्रय दिइएको हो ।
यस्तै, पहिरोका कारण भीमापोखराको भचौरामा एक घर र कुनाराका १२ घरसमेत जोखिममा रहेका छन् । अविरल वर्षापछि आएको पहिरोले भीमापोखराका विभिन्न स्थानमा सडक सञ्जालमा समेत क्षति पु¥याएको छ ।
वर्षाका कारण अवरुद्ध सडक खुलाउन गाउँपालिका र वडा कार्यालयले पहल गरिरहेका छन् । सोमबार अक्षेतेदेखि वडा कार्यालयसम्मको सडक खुलाइएको वडाध्यक्ष शर्माले बताउनुभयो ।
बागलुङ नगरपालिका–७ तितौरेदेखि भीमापोखरा जोड्ने सडक भने मंगलबार खुलाउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।








