
काठमाडौं, १८ कार्तिक । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले दानबहादुर कार्कीलाई कारबाही नभइ जिम्मेवारी हेरफेर मात्र गरिएको बताउनुभएको छ ।
आज बसेको मन्त्रीपरिषदको वैठकले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई हटाएर आजको मितिदेखि नै लागु हुने गरी एआईजी डा. मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।
वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिर्जना गर्ने,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले भन्नुभयाे,‘बमोजिमको विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीलाई खटाउने ।’
‘दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटिई रिक्त हुने प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम मिति २०८३ कात्तिक १८ गतेदेखि लागु हुने गरी बढुवा गर्ने,’ उहाँले भन्नुभयाे ।
पत्रकारहरुले उहाँलाई कार्कीलाई कारबाही गर्नुपर्नाको कारणबारे जिज्ञासा राखेका थिए । सो जिज्ञासामा पोखरेलले भन्नुभयाे,‘कारबाहीको रुपमा भन्दा पनि उहाँको जिम्मेवारी फेरबदल मात्र गरेको हो । उहाँलाई सुरक्षा सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । अब नयाँ आईजीपी आउनुभाछ उहाँले आवश्यक गर्नुपर्ने कुरा गरिहाल्नुहुन्छ ।’







