बागलुङका कमल पहिलो पटक राष्ट्रिय फुटबल टिममा छनोट

बागलुङ, ४ जेठ । बागलुङका कमल थापा पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीमा परेका छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूणर् खेल तथा विश्वकप छनोटका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । उक्त टोलीमा थापाले स्थान बनाउन सफल भएका हुन् ।

थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १२ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अलमुताइरीले टोली घोषणा गरेका हुन् । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा ६ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

मिडफिल्डर कमल थापा (बागलुङ), सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् ।

प्रारम्भिक टोलीबाट प्रशिक्षक अलमुताइरीले ९ खेलाडीलाई बाहिर राख्दै अन्तिम २३ घोषणा गरेका हुन् । थ्री नेसन्स कपको टोलीबाट फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्काले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यस्तै थ्री नेसन्स कप जित्दाका सदस्य रवी पासवान पनि अन्तिम २३ मा परेका छैनन् । यसबाहेक पहिलो पटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन् । नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

राष्ट्रिय टोलीले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०-१० अंक छ । नेपालले चौथो स्थानमा रहन सके एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here