नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

काठमाडौं, १४ असोज
भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो ।
तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं । भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं’, दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा भने, ‘हामीले फोटो खिच्यौं र उनीहरूलाई रोक्न भन्यौं । तर उनीहरू नसुनेझैं गरेर गए ।’
साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो । क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए ।
छ्यालेकमा नेपालको प्रहरी चौकी छ । चौकीमा २३ प्रहरी छन् । त्यहाँ प्रहरीले नेपाली भूभागमा आएर पटकपटक भारतीय सेनाले गस्ती गर्ने गरेको गुनासो गरेको साउदले बताए । ‘पुलिसले नै भने, माथि भनिदिनुपर्‍यो, यहाँ भारतीय सेना आइरहन्छन्’, उनले भने ।
चीनलाई निगरानी गर्न भारतीय भूमिबाट अप्ठ्यारो भएकाले नेपाली भूमि प्रयोग गर्ने गरेको स्थानीयले बताएको क्याम्पस प्रमुख साउदको भनाइ छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भारतीय सेनाको गस्तीबारे आधिकारिक जानकारी नभएको बताए । ‘विकट गाउँमा प्रहरी चौकी छ, तर त्यहाँ सम्पर्क हुन गाह्रो हुन्छ,’ उनले टेलिफोनमा भने, आधिकारिक संयन्त्रबाट कुनै जानकारी आएको छैन ।’
आजको अन्नपूर्ण पोष्टबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here