अविरल वर्षाले बागलुङमा क्षतिः १० जनाको मृत्यु, एक जना बेपत्ता

बागलुङ, १२ असोज । अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । पहिरोमा पुरिएर जिल्लामा १० जनाको मृत्यु भएको छभने एक जना बेपत्ता भएका छन् ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गंगालाल सुवेदीका अनुसार पहिरोमा परी निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाका विभिन्न स्थानमा मानवीय क्षति भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार पहिरोमा पुरिएर निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ का ३६ वर्षीय श्यामकुमारी वि.क., १३ वर्षीय मनोज विक, ८ वर्षीय युकेश वि.क., ३ वर्षीय निशान विक र ५० वर्षीय सुर्ज घर्ति मगर रहेका छन् ।

पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ का ५५ वर्षीय मन बहादुर विकको मृत्यु भएको छ ।

यस्तै तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएकोछभने एक जना बेपत्ता छन् । पहिरोमा पुरिएर तमानखोला गाउँपालिका वडा नं. ३ का ८० वर्षीय बुद्धिराज घर्ति र ६५ वर्षीय भिमवेदी घर्ति, वडा नं. ४ का ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीय उदिसरा विक श्रीपालीको मृत्यु भएको छ । वडा नं. ४ का एक जना सम्पर्क विहिन रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा सडक, बस्ती तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको सुवेदीले जानकारी दिनुभयो ।