बागलुङ, २५ मंसिर । काठेखोला गाउँपालिकामा गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
विहुँकोट धार्मीक महोत्सवको अवसरमा काठेखोला गाउँपलिकाद्धारा आयोजना गरिएको धर्म र संस्कृति विषयक कविता प्रतियोगितामा अमर माध्यमिक विद्यालय काठेखोला–५ विहुँका विद्यार्थी सुभम पन्त प्रथम भएका छन् । यस्तै लालिगुराँस ईग्लिस बोडिङ स्कुल काठेखोला–५ विहुँका विद्यार्थी दिक्षिका सुनार दोश्रो, अमर माध्यमिक विद्यालय काठेखोला–५ विहुँका विद्यार्थी संगिता सुनार तेश्रो र जनता माध्यमिक विद्यालय काठेखोला–३ धम्जाकलेले मुना निउरे सान्तना स्थान प्राप्त गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन पछि बोल्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले विद्यार्थीहरुमा रहेका अन्तरनिहित भावनाहरुलाई कलाको माध्यमबाट बाहिर अभिब्यक्त गर्ने एक शसक्त माध्यम कविता लगायतका साहित्यिक विधाहरु भएकोले बताउनुभयो । उहाँले श्रष्टाहरुले समाजमा भएका विकृति र विसंगतिलाई हटाई सभ्य र सुसंस्कृत समाज स्थापना गर्न लाग्नुपर्ने बताउनुभयो ।
काठेखोला गाउँपालिका, सामाजिक विकास समितिका संयोजक एवम वडा नं. १ का अध्यक्ष खडक थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काठेखोला गाउँपालिका शिक्षा शाखाका मनुदेवी शर्माले स्वागत मन्तव्य र शिक्षा अधिकृत रमा उचै र श्रोतब्यक्ति रमानन्द कँडेलले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, काठेखोला गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेल, काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम वि.क. र अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक भिष्म कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।