लामाबगरमा पहिरोले तीन घर पुरिए, एकजनाको सकुशल उद्धार

ठाकुरप्रसाद आचार्य
म्याग्दी, १३ असोज ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित लामाबगरमा मङ्गलबार बिहान करिब ५ बजे पहिरो खस्दा तीनवटा घर र गोठ पूर्णरूपमा पुरिएका छन् । पहिरोमा पुरिनुभएका अन्दाजी ६५ वर्षीय आत्मराम आचार्यको सकुशल उद्धार गरिएको छ ।

बस्तीभन्दा माथिको पाखाबाट पहिरो खसेको हो । पहिरो खसेको सूचना प्राप्त हुनासाथ मिलनचोकस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र जनप्रतिनिधिको टोलीले आचार्यको उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याएको स्थानीय शिक्षक डिल्लीराम पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिरोको जोखिम भएपछि सोमबार नै यहाँका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको थियो । उहाँ मात्र जान मान्नुभएन । त्यही घरमा बस्नुभएको थियो । पूर्णरूपमा पुरिएको घरभित्रबाट भाग्यले बाँच्नुभयो ।”

घटनास्थल पुग्नुभएका जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले पहिरोले तीनवटा घर पूर्णरूपमा पुरिएको जानकारी दिनुभयो । पहिरोको जोखिम बढेपछि सोमबार साँझ नै अन्य घरका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको भए पनि आत्मराम आचार्य भने आफ्नै घरमा एक्लै बस्नुभएको उहाँले बताउनुभयो ।

पहिरोले आत्मराम आचार्य, लिलाधर आचार्य र प्रेमप्रसाद आचार्यका घर तथा गोठ पूर्णरूपमा पुरिएका छन् । पहिरोस्थल बेनी–मालढुङ्गा सडकखण्डअन्तर्गत मिलनचोक र केरावारीको बीचमा पर्दछ । पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

पहिरोले खेतीयोग्य जमिन पुरिँदै कालीगण्डकी नदी किनारसम्म पुगेको छ । वर्षा रोकिए पनि बाढीपहिरोका घटना नरोकिएकाले जोखिमयुक्त स्थानमा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिनसम्म परेको भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोका कारण जलजलामा मानवीय क्षति नभए पनि भौतिक संरचना, धनमाल, निजी घर, खेतीयोग्य जमिन तथा सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ ।

जलजला गाउँपालिका–८ फर्सेको पुरानो बजार आइतबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले बगाएको थियो । बाढीले घर बगाउँदा ५० घरपरिवार विस्थापित भएका छन् । पूर्वसूचना र तयारीका कारण ठुलो मानवीय क्षति हुनबाट जोगिएको जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।

बाढीपहिरो र नदी कटानका कारण असुरक्षित भएका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा विभिन्न निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पालिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।