
अर्जुन कार्की
बागलुङ, १२ असोज । बागलुङको कुश्मिशेरा नगरपालिका–१ की ५९ वर्षीया डम्मरी शर्मा आठ वर्षदेखि मानव सेवा आश्रममा आश्रित हुनुहुन्छ । बागलुङ बजारमा प्लाष्टिक बोतल संकलन गर्दै वेसाहारा जीवन विताउँदै आउनुभएकी शर्मालाई आश्रमले उद्धार गरेको थियो । आश्रम पुगेपछि उहाँको जीवनमा परिवर्तन आएको छ ।
आश्रममा बस्न आनन्द भएपनि चाडपर्वमा भने घरमा जाने इच्छा हुने शर्मा बताउनुहुन्छ । “चाडपर्वमा घर जाम, आफन्त भेटौं भएर के गर्ने यही बसेकी छु,” उहाँले भन्नुभयो,“घर जान मन लाग्छ । तर, कोही छैनन् ।”
श्रीमानले अर्को श्रीमती लिएर भारत गएपछि जीवनमा कठोर अनुभवसँग काटनुपरेको शर्माको भनाई छ । २०४८ सालमा श्रीमानले दोस्रो विवाह गरेपछि उहाँले कानुनी लडाइ लडेर जग्गाजमिन पाउनुभएको थियो । तर, काम गर्न नसक्दा बेसाहारा भएर सडकमा भौतारिदा जग्गाका कागजतपत्र समेत हराएको शर्माले बताउनुभयो ।
श्रीमान अहिले भारतमै बस्छन् । छोरा पनि उतै छन् । “छोराले बेला बेला फोन गरिरहन्छ । लिन आइजा भनेको थिएँ, छुट्टी मिलेको छैन, आउन मिल्दैन भन्यो,” उहाँले भन्नुभयो।
डम्मरीले केही वर्षअघि बागलुङ बजारमा प्लास्टिकका बोतल टिपेर गुजारा गर्नुहुन्थ्यो । “प्रति केजी पाँच रुपियाँ पाइन्थ्यो । त्यही पैसाले खाने र बजारका दिदीबहिनीहरुले दिएको कपडाले लाउने गर्थें,” उहाँले सम्झिनुभयो । माइतका भतिज कहिलेकाहीँ भेटन् अउने गरेपनि घरपट्टीका आफन्तभने कहिल्यै नआएको उहाँले बताउनुभयो । “तिजमा भतिज आएको थियो, बेला बेला फोन पनि गर्छ,” उहाँले भन्नुभयो,“दशैंमा बाटो बन्द छ, तिहारमा आउँछु भनेको छ ।”
केही समयअघि राष्ट्रिय परिचयपत्र बनाउन र सासुलाई भेट्न गाउँ जानुभएकी शर्मा कोही नभेटिँदा निराश हुँदै फर्कनुपरेको थियो । “सासुलाई भेट्न र राष्ट्रिय परिचयपत्र बनाउन केही महिना पहिले घर गएकी थिए,” उहाँले भन्नुभयो,“गाउँका छिमेकी र घरका सासु, देवर, जेठाजुहरु र छिमेकी समेत सबै तराईतिर सरेका छन् ।”
शर्मा जस्तै बागलुङ नगरपालिका–१४ की दू्रपति पौडेललाई चाडपर्वमा आफन्तको सम्झना आउँछ । तर, भेटन् कोही नआउँदा उहाँलाई पनि सम्झना मन नलाग्ने बताउनुहुन्छ ।
सात वर्षदेखि आश्रममा बस्दै आएकी पौडेल श्रीमान र छोराको मृत्यु भएपछि आश्रम आउनु परेको हो । “श्रीमान र छोरा भएको भए आश्रममा बस्नुपर्ने थिएन,” उहाँले भन्नुभयो । उहाँका अनुसार घरमा बुहारी र दुई नाती भए पनि घरकै कारण आश्रम आउनुपरेको हो ।
आश्रममा पौडेललाई भेट्न बेलाबेला छोरीहरु र तिनी पट्टीका नातीहरु भेट्न आएपनि घरपट्टीबाट कोहि आउँदैनन् । पौडेललाई छोरीहरुले सँगै जाम नभनेको र उहाँलाई पनि म जान्छु भन्न मन नभएको सुनाउनुभयो । “छोरी र नातीहरु बेला बेला भेट्न आउँछन् । हामी लग्छौं घरमा जाम भनेका त छैनन् । तर, मलाई छोरीको घरमा गएर बस्न मन छैन,” उहाँले भन्नुभयो,“छोरीहरुसँग बस्दा कहिलेकाँही केही कुरामा चित्त नबुझे केही भन्न सकिँदैन, पाप लाग्छ । त्यसैले आश्रममै बस्न ठिक छ ।” चाडपर्वमा भने दिवंगत श्रीमान, छोरा र गाउँघरको याद झल्झली आउने उहाँको भनाई छ ।
जैमिनी नगरपालिका–४ सर्कुवाका ८३ वर्षीय दानबहादुर शाही ठकुरी दुई वर्षदेखि आश्रममा बस्दै आउनुभएको छ । पूर्वभारतीय आर्मी रहेका ठकुरी खाना पकाउन र कपडा धुन नसकेपछि आफैं खोजी गरेर आश्रम पुग्नुभएको हो । चाडपर्वमा घरको सम्झनाले सताउने तर आफन्तले नसम्झिँदा आफूलाई पनि सम्झन मन नलाग्ने उहाँले बताउनुभयो ।
आश्रममा ‘लाहुरे बा’का नामले चिनिने ठकुरी श्रीमतीको मृत्यु र एक मात्र छोराले दोस्रो विवाह गरी घर छोडेपछि एक्लिनुभएको हो । “छोरालाई मागी विवाह गरिदिएको थिएँ । नाती जन्मिएपछि उसले अर्को केटीलाई भगाएर घर छाड्यो, अनि म एक्लो बनेँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार छोराको पहिलो श्रीमती र नाती हेटौडामा बस्छन्, तर छोराको अत्तोपत्तो छैन । “बुबा बुढो हुनुभयो, कहाँ हुनुहुन्छ भनेर छोराले कहिल्यै सम्झेको छैन । नाती पनि २० वर्षको भयो, तर बुहारी र नातीले समेत कहिल्यै सम्झेनन् । म मात्रै सम्झेर के गर्नु ?” ठकुरीले पीडा पोख्नुभयो । हाल ठकुरीले आफ्नो सम्पत्ति बहिनीको नाममा गरिदिनुभएको छ । तर, बहिनी र उनका छोराहरु समेत आश्रममा भेट्न समेत नआएको उहाँको दुखेसो छ ।
चीनसँग १९६२ र पाकिस्तानसँग १९६७ तथा १९७१ मा युद्ध लडेका ठकुरी अहिले भने विश्वास गरेकै कारण ठगी मुद्दामा फस्नुभएको छ । सोही उहाँको पेन्सन समेत रोकिएको छ । “म्याग्दीको मान्छेले ऋण लिएको छु, म तिर्छु भनेपछि साँची बसेको थिएँ । पछि थाहा भयो, ऊ विदेश पठाउने दलाल रहेछ, अहिले बैदेशिक रोजगारीको ठगी मुद्धा भोगिरहेको छु,” ठकुरीले सुनाउनुभयो । हाल वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दा अदालतमा चलिरहेको छ । “सम्पत्ति भए हाईहाई गर्थे होलान्, नभएपछि वास्ता गरेनन् । छोराले सम्झनु पर्ने हो, तर सम्झेको छैन ।” उहाँको गुनासो छ ।
आश्रममा बस्ने अधिकांश वृद्धवृद्धा चाडपर्वमा आफन्त र पुराना दिन सम्झिँदा आँसु झार्छन् । तर, आश्रममा पाएको सम्मान, खाना र साथले उनीहरूलाई बाँच्ने आधार दिएको छ । दशैं–तिहार जस्ता चाडपर्वमा उनीहरूलाई पुराना दिन र छोराछोरीको सम्झना तीव्र हुन्छ । चाडपर्वमा कोही लिन आउलान् कि भन्ने आशामा बस्ने गरेका छन् ।
मानव सेवा आश्रम बागलुङकी संचालिका बिपना तामाङका अनुसार मानव सेवा आश्रमले सडकबाट उद्धार गरिएका आमा–बुबा र बालबालिकालाई परिवारसँग मिलाउने प्रयास गर्दै आएको बताउनुभयो । उहाँले आफन्त भेट्न आए पनि घरमा लैजान नमानेको गुनासो बढ्दो रहेको बताउनुभयो ।
यस वर्ष आश्रमले १०४ वर्षीया मनिरुपा लामिछानेको हातबाट टिका लगाउने तयारी गरेको छ । हाल आश्रममा ३० महिला, २८ पुरुष र ८ बालबालिका रहेका छन् ।










