प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्व प्रहरी संगठन बागलुङको सहयोग

बागलुङ, ८ असोज । भोटेकोसीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल पूर्व प्रहरी संगठन बागलुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि पीडितलाई राहत पु¥याउने उद्देश्यले संगठनले सहयोग रकम उपलब्ध गराएका नेपाल पूर्व प्रहरी संगठन बागलुङका अध्यक्ष टिकाबहादुर कार्कीले जानकारी दिनुभयो । नेपाल पूर्व प्रहरी संगठन बागलुङका पूर्व प्रहरी कर्मचारी तथा परिवारजनबाट संकलित ६७ हजार ६० रुपियाँ रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

संगठनले कोषमा जम्मा गरेको जानकारी र भौचर संगठनका वरिष्ठ उपाध्यक्ष बिकास खड्का, सल्लाहकार महेन्द्र के.सी. लगायतको टोलीले बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरिएको थियो ।

संगठनले विपद्मा परेका नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएको जनाउँदै दुःखको यस घडीमा पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, बाढीपहिरोबाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ ।