कस्मेटिक, किराना र कपडा पसलबाटै मास्क र सेनिटाइजर विक्री, कति गुणस्तरीय छन् ?

अर्जुन कार्की
बागलुङ, २४ भदौ ।
कोरोना महामारी अगाडी धेरैले सुन्दै नसुनेको नाम हो सेनिटाइजर । कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएसँगै त्यसबाट बच्नको लागि मास्क र सेनिटाइजरको प्रयोग गर्न स्वास्थ्यकर्मीको निर्देशनपछि बजारमा छ्यापछ्याप्ती विभिन्न नामका सेनिटाइजरहरु र मास्कहरु भित्रिरहेका छन् ।

नेपालमा गत चैत महिनामा कोरोना भाइरसको संक्रमण देखिएपछि केहि महिना मास्क र सेनिटाइजरको अभाव नै सिर्जना भएको थियो । अहिले पनि सिमित मात्रमा मास्क र सेनिटाइजर पाइने गरेपनि तिनीहरुको गुणस्तर मापन गरिएको पाइएको छैन । स्वास्थ्य क्लिनिक, मेडिकलहरुमा विक्रि हुँदै आएको मास्क र सेनिटाइजर अहिले कस्मेटिक पसल, किराना पसल, कपडा पसलहरुमा पनि पाइने गरेका छन् । तर तिनीहरु स्वास्थ्य मापदण्ड पुगेका गुणस्तरीय नै छन् त ? यसबारेमा सम्बन्धित निकायले चासो दिएको पाइएको छैन ।

अहिले बजारमा आएका मास्क र सेनिटाइजर काम चलाउन रहेको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । प्रमुख खनालले नेपालमा चैत बैशाखमा मास्क र सेनिटाइजर पाउनै मुस्किल परेपनि अहिले विभिन्न कम्पनीले उत्पादन गरेका स्वास्थ्य सामाग्रीहरु आइरहेकोले अभाव नभएको बताए ।

बागलुङमा एक दशकदेखि मेडिकल पसल संचालन समेत गर्दै आएका खनालले मेडिकल पसलहरुबाट विक्रि भइरहेका मास्क र सेनिटाइजर गुणस्तरीय भएता पनि अन्य पसलहरु र सवारी साधनले माइकिङ गरेर विक्रि गरिरहेका स्वास्थ्य सामाग्रीको गुणस्तर भए नभएको भन्न नसकिने बताए ।

‘अहिले विभिन्न मेडिकल कम्पनीहरुले उत्पादन गरेका मास्क र सेनिटाइजर बजारमा आएका छन्,’ प्रमुख खनालले भने–‘मेडिकल पसलमा विल सहितका खरिद विक्रि गरिएका मास्क र सेनिटाइजर गुणस्तर नै रहेका छन् । विल नभएको र माइकिङ गर्दै विक्रि गरिरहेकाको गुणस्तर परिक्षण नगरेसम्म भन्न सकिदैन ।’

प्रमुख खनालले मास्कको माथिल्लो भागमा एउटा डण्डी भएको र लगाइसकेपछि सास फेर्दा सिधै बाहिर नजाने मास्क गुणस्तरीय रहेको बताए । उनले कोरोना भाइरस थुकको छिटा र सासबाट सर्ने भएकाले पातालो मास्क लगाउँदा सासबाट सर्न सक्ने भएकाले उक्त मास्क स्वास्थ्यको लागि उपयोगी नभएको बताए ।

प्रमुख खनालले सेनिटाइजरको खरिद गर्दा आधिकारीक कम्पनी र डिलरबाट बिल सहितको मात्र किन्नुपर्ने बताए । उनले गुणस्तर नै नभएको सेनिटाइजरको प्रयोग गर्दा एलर्जि हुने र छाला सम्बन्धी रोगहरु लाग्न सक्ने बताए । ‘गुणस्तरहिन सेनिटाइजर प्रयोग गर्दा छाला सम्बन्धी विभिन्न रोगहरु लाग्न सक्छन्,’ प्रमुख खनालले भने–‘सेनिटाइजर खरिद गर्दा मिति र उत्पादन कम्पनी हेरेर मात्र खरिद गर्नुपर्छ ।’

उनले मानव स्वास्थ्यको लागि सवै जिम्मेबार बन्नुपर्ने बताउँदै स्वास्थ्य सामाग्रीहरुको अनुगमनको लागि जिम्मेबार निकायले बेलैमा चासो दिनुपर्ने बताए । उनले नगरपालिकाले मेडिकल पसलहरुमा अनुगमन गरेपनि अन्य पसलहरुबाट विक्रि भइरहेका र सवारी साधनले माइकिङ गर्दै विक्रि गरिरहेका स्वास्थ्य सामाग्रीहरुको अनुगमन भएको नपाइएकोले अनुगमन गरिनुपर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here