कालीगण्डकी करिडोरको मालढुंगादेखि कोरलासम्म ४६ स्थानमा अवरोध

मुक्तिनाथ (मुस्ताङ), असोज १२ गते । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न ४६ स्थानमा बाढीपहिरोका कारण अवरोध भएको छ।

लगातारको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण मालढुंगादेखि बेनी हुँदै कोरलासम्मको सडक तथा पक्की पुलमा क्षति पुगेको आयोजनाले जनाएको छ। मालढुंगादेखि कोरलासम्मको २०२ किलोमिटर सडकखण्डमध्ये पर्वतमा पाँच, म्याग्दीमा १९ र मुस्ताङमा २२ स्थानमा सडक अवरुद्ध भएको छ।

पर्वत र म्याग्दीमा कालीगण्डकी नदीले पक्की पुल तथा कालोपत्रे सडक बगाएको छ भने उपल्लो मुस्ताङमा विभिन्न सहायक नदीका कारण सडक भत्किएपछि मालढुंगादेखि चीनको सीमामा रहेको कोरला नाकासँगको सिधा यातायात सम्पर्क विच्छेद भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो।

प्रजिअ शर्माले भन्नुभयो, “तत्काल सम्भव भएका स्थानमा सडक सुचारु गर्ने काम भइरहेको छ। पक्की संरचना बनाउन समय लाग्ने अवस्थामा अस्थायी मार्ग बनाएर भए पनि मुस्ताङ खण्ड खुलाउने विषयमा छलफल भइरहेको छ।”

अविरल वर्षासँगै म्याग्दीसँग सीमा जोडिएको थासाङसहित घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका हुँदै समुद्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका पुग्ने सडक अवरुद्ध भएपछि आन्तरिक सवारीसाधन सञ्चालनमा समेत समस्या भइरहेको छ।

मालढुंगा–बेनी–जोमसोम–कोरला सडकमा सबैभन्दा ठुलो क्षति म्याग्दीखण्डमा भएको छ। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगर र वडा नम्बर २ भुरुङ–तातोपानी बजार जोड्ने सडक बेसबाटै कटान भएको छ।

सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने सडकको अवस्थाबारे अध्ययन भइरहेको छ। म्याग्दी खण्डका पक्की पुलको संरचनामा असर नपरेकाले मर्मतपछि सञ्चालन गर्न सकिने भए पनि समय लाग्ने देखिएको आयोजनाले जनाएको छ। हालसम्म पुनर्निर्माण तथा मर्मतको लागत अनुमान गर्न सकिने अवस्था नरहेको आयोजनाले जनाएको छ।

सोमबार बिहानदेखि मौसम अनुकूल भएकाले सडकखण्डको अवस्थाबारे प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरी विवरण सङ्कलन गर्ने आयोजनाले जनाएको छ। आयोजनाअन्तर्गतको १८६ किलोमिटर दूरीको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा बाढीपहिरोबाट ठुलो क्षति भएको छ। ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्डमध्ये करिब २२ किलोमिटर क्षेत्र सधैँ बाढीपहिरोको जोखिममा रहेको आयोजनाले जनाएको छ।

सडक अवरुद्ध हुँदा उत्तरी नाकासँग जोडिएको एक मात्र भन्सार सेवासमेत प्रभावित भएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित भन्सार कार्यालय बगाएपछि रसुवागढीबाट हुने पैठारी तथा चीनसँग जोडिएका अन्य नाका बन्द भएको अवस्थामा तिब्बतको झोङवासेन जिल्ला हुँदै लिजी–नेचुङ (कोरला) नाकामा कन्टेनर रोकिएका छन्।

छोसेर भन्सार कार्यालयबाट करिब १४ किलोमिटर माथि रहेको कोरला नाकासम्म जाने कन्टेनर अस्थायी र्‍याडमा थन्किएका छन्। चाडपर्वका लागि विद्युतीय सवारीसाधनसहित अन्य सामान लिन करिब डेढ सयभन्दा बढी कन्टेनर पुगेका छन्।

भिरालो भूभाग, भूमिगत पानी तथा कमजोर भू–बनोटका कारण यस क्षेत्रमा बाढी, पहिरो र नदी कटानको जोखिम रहेको छ। बाढीपहिरोका कारण चाडपर्वका बेला मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समेत समस्या हुने देखिएको छ।