बागलुङ, २२ पौष । बागलुङ नगरपालिका क्षेत्र भित्र दुर्गम क्षेत्रको रुपमा रहेको वडा नं. ११ रायडाँडाको तमाखुबारीमा सहरी स्वास्थ्य केन्द्र संचालन गरिएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको यस क्षेत्रका स्थानियको आवश्यकतालाई मध्यनजर गरी बिहिबारदेखी सेवा सुभारम्भ गरिएको हो ।
सेवाको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्वास्थ्य केन्द्र स्थापना भए सँगै जनतालाई थप राहत हुने बताए ।
स्वास्थ्य र शिक्षा हरेक मानिसको आधारभुत आवश्यकता भएका कारण यसको सहजताका लागि स्थानिय सरकारले जोड दिने बताए । श्रेष्ठले बागलुङ नगरपालिकाले पुर्वाधार विकासमा भन्दा पनि स्वास्थ्य शिक्षा जता सामाजिक क्षेत्रमा बढि लगानी गर्ने बताए । उनले हरेक नागरिकका न्युनतम आवश्यकतलाई मध्यनजर गरी नगरले कार्यक्रम अगाडी बढाउने बताए ।
स्वास्थ्य केन्द्र संचालनमा आएसँगै यस क्षेत्रका जनतालाई घण्टौं लगाएर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता टरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । ‘सामान्य विरामी पर्दा पनि यहाँका सर्वसाधारण घण्टौं लगाएर रायडाँडा स्वास्थ्य चौकी वा सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा धाउनुपर्ने बाध्यात थियो’ वडा अध्यक्ष गौतमले भने,‘सहरी स्वास्थ्य केन्द्र संचालनमा आएपछि अब केही समस्याको समाधान भयो ।’
स्वास्थ्य केन्द्रमा विरामीको जाँच गर्नुका साथै खोप परिवार नियोजन लगायतका सेवाहरु प्रदान गरिने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
सोही अवसरमा गत भदौमा गएको सुख्खा पहिरोका कारण प्रभावित भएको ८ घर परिवारलाई नगरपालिकाको तर्फबाट २० हजारका दरले राहत प्रदान गरिएको वडा अध्यक्ष गौतमले जानकारी दिए । कार्यक्रम वडा सचिव नेत्र प्रसाद सापकोटाले संचालन गरेका थिए ।