अस्पताल आफैले पैसा थपेर पाठेघरको अप्रेसन

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, २५ मंसिर । पैसा अभावले बिरामीले उपचार नपाएको । अप्रेसन रोकिएको सुनिएकै छ । धेरै सहजिकरण भए विपन्न सहयोग र उपचारमा छुट हुन सक्छ ।
धौलागिरि अस्पताल बागलुङले पाठेघरको अप्रेसनको लागि आफै पैसा थप गरेर ३६ जना महिलाको निःशुल्क पाठेघरको अप्रेसन गरेको छ ।

आङखसेका महिलाहरुको निःशुल्क अप्रेसनको लागि गण्डकी प्रदेश सरकारले प्रति बिरामी १३ हजार रुपियाँ छुट्याएको थियो । जिल्ला स्तरमा अप्रेशनको लागि विशेषज्ञा डाक्टर नहुँदा सरकारले तोकेको वा उपलब्ध गराएको रकममा अप्रेसन खर्चले नपुग्ने धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य लक्ष्मी जिसी कार्कीले बताउनुभयो ।
बाहिरी जिल्लाबाट विशेषज्ञा डाक्टरसहितको टोली झिकाएर अप्रेशन गर्दा एउटा बिरामीको खर्च २० हजार रुपियाँ लाग्ने हुँदा अस्पताल व्यवस्थापन समितिले प्रति बिरामी सात हजार रुपियाँ थप गरेर अप्रेशन गरेको उहाँले बताउनुभयो ।

मङसिर २१देखि २३ गतेसम्म सञ्चालित निःशुल्क अप्रेसन शिविरमा ३६ जना महिलाको निःशुल्क अप्रेसन गरिएको थियो । शिविरमा सबै भन्दा बढी ८५ बर्षिय र सबै भन्दा कम ३१ बर्षिय महिलाको अप्रेशन गरिएको अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो ।

बिरामी सबैलाई अस्पतालमा भर्ना गरिएको छ । उनीहरु स्वास्थ्य अवस्था सामान्य छ । ‘हामीले नागरिक प्रतिको दायित्व बोध गरेर रकम थप गरेका छौँ’ सदस्य जिसीले भन्नुभयो–‘अस्पताल आफै संकटमा परेको अवस्थामा रकम थप गर्नु सामान्य विषय होईन ।’ थप भएको रकम पूर्तिको लागि स्थानीय तहसँग समन्वय गर्ने अस्पतालका प्रशासकीय अधिकृत छैठौँ तेजराज गौतमले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here