सरकारी सवारी दुरुपयोग गरेर चुनावी प्रचारमा मन्त्री पौडेल

बागलुङ, ८ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा रहेका बागलुङका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवारहरुले पनि आचारसंहितको उल्लंघन गरेर प्रचारप्रसार तल्लिन छन् । बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको तर्फदेखि नेकपा माओवादीबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल उम्मेवार छन् । पौडेलले प्रचारप्रसारको क्रममा मन्त्रालयको सवारी साधन प्रयोग गरी सरकारी सम्पतिको दुरुपयोग गरेका हुन ।

मन्त्री पौडेलले शनिबार बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ खार बजारमा आफ्नो बा. २ भ ४०३२ नम्बरको जिपमा आफु र प्रदेश ३–०१, ००२ झ ५०४४ नम्बरको सरकारी सवारीमा आफ्नो सहित क्षेत्र नम्बर २ प्रदेशसभा ९क० मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार रहेका जित बहादुर शेरचनको पर्चा सहितको प्रचार सामाग्री बोकेका पुगेका थिए ।

 

आचारसंहितामा प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा कडाइ गरिएको छ । प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै गर्न प्रचारप्रसार गर्न पाउने भनिएको छ  । राजनीतिक दलहरूले यस प्रावधानको विरोध जनाउँदै आएका छन् ।

दलको मागअनुसार उनीहरूलाई आयोगको अनुमति लिएर चुनाव प्रचारमा जान दिने तर सरकारी स्रोतसाधन प्रयोगमा रोक लगाउने आयोगले आचारसंहिता बनाएको छ । तर, मन्त्री पौडेलले आचारसंहिताको उल्लंघन गर्दै सरकारी सवारीमा चुनावी प्रचार सहित पर्चाका सामाग्रीहरु समेत ओसारपसार गरीरहेका छन् ।

आचारसंहिता उल्लंघन गरेर उम्मेदवार र राजनीतिक दलको घरदैलो
आयोगले घरदैलो मात्र गर्न निर्देशन दिएपनि मन्त्री पौडेलले आचारसंहिताको उल्लंघन गर्दै घरदैलो सहित सभाका कार्यक्रमहरु समेत गरिरहेका छन् ।

निर्वाचन आचारसंहिता जिल्ला अनुगमन समितिका संयोजकसमेत कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख धर्मभत्त बस्यालले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै औपचारिक कार्यक्रममार्फत प्रचारप्रसार गर्न पाइने भएपनि बागलुङका राजनीतिक दल र उम्मेदवारहरुले दैनिक प्रचारप्रसार गरेका हुन ।

आयोगले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने बताए पनि बागलुङका राजनीतिक दलहरुले उम्मेदवारसहितको ठूलोसंख्यामा घरदैलो गर्ने र सार्वजनिक रुपमै अन्तरक्रिया लगायतका औपचारिक कार्यक्रमहरु गरेका छन् ।

बागलुङमा सत्ता गठबन्धनका उम्मेदवारहरुले दैनिक वडा वडामा अन्तरक्रिया लगायतका कार्यक्रमको आयोजना गरेर नै भोट मागिरहेका छन् । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्र बहादुर केसी, क्षेत्र नम्बर १ प्रदेशसभा (क) का दिपेन्द्र बहादुर थापा, (ख)का उम्मेदवार डिल्लीप्रसाद सुवेदीले वडा वडामा पुगेर कार्यक्रम गर्दै भोट मागिरहेको तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

नेकपा एमालेबाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका डा. सुर्य प्रसाद पाठक, प्रदेशसभा सदस्य (क)का उम्मेदवार हिरा बहादुर केसी र (ख)का उम्मेदवार नवराज पौडेलले पनि कार्यकर्ता र नेताको ठूलो संख्यामा घरदैलो कार्यक्रम गरिरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका खिमानन्द कंडेलले पनि कार्यकर्ता र जिल्ला तहका नेतासहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

निर्वाचन आयोगले आचारसंहिताको पालना गरेर कार्यक्रम सहितको प्रचारप्रसार कार्तिक १८ अगाडी नगर्न र घरदैलो कार्यक्रममा २५ जना भन्दा बढी नहिड्न निर्देशन जारी गरेका छन । आयोगको निर्देशनलाई राजनीतिक दल र उम्मेदवारले नजर अन्दाज गरेका छन् ।

सत्ता गठबन्धनले बागलुङ नगरपालिका–७ तितौरे स्थित शहरी स्वास्थ्य केन्द्रको प्राङ्गणमा चुनावी सभा अन्तरगत अगुवा कार्यकर्ता भेला गरेको छ । आयोगले सार्वजनिक भवनहरु रहेको स्थानमा चुनावी कार्यक्रम गर्नु आचारसंहिता विपरित हुने बताएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा उजुरी शुन्य ?
जिल्लामा राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गरेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छैनन् ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ बुर्तिबाङका सहायक निर्वाचन अधिकृत श्रषिराम रिजालले सोमबारसम्म कुनै उजुरी नपरेको बताए ।

‘आचारसंहिताको पालना गरेनगरेको अनुगमनको जिम्मा कोलेनिका प्रमुखलाई अनुगमन अधिकृत बनाएर आयोगले जिम्मा दिएको छ,’ सहायक निर्वाचन अधिकृत रिजालले भने ‘मन्त्रीले सरकारी सवारी लगेर चुनावी प्रचारमा जान पाउँदैनन्, त्यो आचारसंहिता विपरित हो । तर हामीकहाँ उल्लंघन गरेको उजुरी परेको छैन ।’ उनले उजुरी आएमा अनुशन्धान गरेर प्रमाणित भएमा कारवाही हुने बताए ।

अनुगमन अधिृकत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख धर्मभत्त बस्यालले प्रत्यक्षमा रुपमा उजुरी नगरेको र मौखिक गुनासो आएको बताए । उनले अनुगमन टोलीले केहि दिन क्षेत्र नम्बर २ मा अनुगमन गर्दा मन्त्रीको सवारी होटलमा पार्किङ्ग गरिएको देखिएको र मौखिक रुपमा प्रचारमा संलग्न रहेको भन्ने जानकारी आएपछि मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताए । उनले मन्त्रीले आईतबारदेखि बोलेरो जिपमा हिडेको र सरकारी सवारी फिर्ता गरेको प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको खबर पाएको अनुगमन अधिकृत बस्यालले बताए ।

राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेमा सचेत नागरिकहरुले उजुरी गर्न आग्रह गरे । ‘अनुगमन समितिलाई सवै स्थानमा पुगेर आफै हेर्ना समय नपुग्न सक्छ,’ बस्यालले भने ‘सचेत नागरिक र बौद्धिक व्यक्तिहरुले आचारसंहिता उल्लंघनका घटना देखेमा प्रमाणसहित उजुरी गर्नुहोला । उजुरी परेपछि हामीले अध्ययन गरेर स्पष्टिकरण सोध्ने र कारवाही गर्नेछौं ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here