भोट माग्न खेतबारीमा उम्मेदवार

नवीन शिशिर विक
बागलुङ, ७ कार्तिक । बर्खेबाली भित्र्याउने समयमा निर्वाचन परेकाले मतदाताहरू खेतबारेमा व्यस्त भएकाबेला उम्मेदवारहरू भोट माग्न खेतबारीमै पुग्नुभएको छ ।

धान भित्र्याउने समय परेको हुँदा कृषकहरूलाई घरमा भेटेर भोट माग्न कठिन भएपछि उम्मेदवारहरू खेतबारीमा पुग्न थाल्नुभएको हो । बिहानमा धान काट्ने र दिउँसो अर्मापर्मामा जाने हुँदा मतदाता जहाँ छन् त्यही पुगेर उम्मेदवारहरूले आफ्नो पक्षमा मत माग्न थालेका हुन् ।

किसानले धान काट्दै गरेको खेतमा, धान झार्दै गरेको खलोमा, कोदो काट्दै गरेको बारीमै पुगेर आफ्ना चुनावी एजेण्डासहित मत माग्नु परेको एमाले बागलुङ जिल्ला कमिटी अध्यक्ष तथा प्रदेशसभा सदस्य हिराबहादुर केसीले बताउनुभयो ।

‘अहिले किसानलाई घरमा भेट्ने, भेला गर्ने समय छैन’ उहाँले भन्नुभयो– ‘कृषक दाजुभाइ दिदीबहिनी जहाँ भेटिनु हुन्छ, त्यही पुगेका छौँ ।’ धान पाकेर पहेलपुर भएको हुँदा कृषकलाई घरमा बस्ने, दुई चार घण्टा भेला भएर छलफल गर्ने फुर्सद नभएको मतदाताको भनाइ छ ।

‘तिहार अघि नै धान भित्र्याउन पाए ढुक्कले चाड मनाउनु हुन्थ्यो’ काठेखोला –२ का कृषक थमबहादुर आलेले भन्नुभयो– ‘पाकेको बाली कतै असिना पानीले खाला भन्ने चिन्ता छ ।’ गाउँमा भोट माग्न आउने उम्मेदवार र नेताहरूलाई खेतबारीमै बोलाउने गरेको उहाँले सुनाउनुभयो ।

‘हामी पनि कृषक नै हो’ कांग्रेसका जिल्ला पार्टी सचिव हरिहर शर्माले भन्नुभयो– ‘किसान जहाँ हुनहुन्छ त्यहाँ पुग्न कुनै कठिन छैन ।’ धान झाँट्ने ठाउँमा पुग्दा एकमुष्ट कृषकहरू भेट्न सकिने उहाँको भनाइ छ । फिल्डमै पुग्न वास्तविक कृषकका खास समस्या पहिचान गर्न पनि सहज हुने उहाँको भनाइ छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here