बागलुङ, २६ असोज गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिन्ह साविककै हुने भएपनि स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने भएको हो ।
निर्वाचन चिन्ह आज अपराह्न ४:०० बजेदेखि बेलुका ७:०० बजेसम्म वितरण गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसअघि भने आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ । त्यसका लागि दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्मको समय निर्धारण गरिएको छ ।
अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा त्यसका लागि समय छुट्याइएको छ । उम्मेदवारी फिर्ता लिने समय बुधवार बिहान १०:०० बजेदेखि १:०० बजेसम्म रहेको छ ।