गठबन्धनविरुद्ध बागलुङमा जनमोर्चाका जिल्ला सचिवको बागी उम्मेदवारी

बागलुङ, २४ असोज । बागलुङ जिल्लाको क्षेत्र नम्बर २ (क)मा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेलले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

सो प्रदेशसभामा गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जित बहादुर शेरचनले उम्मेदवारी दर्ता गरेका छन् ।

जनमोर्चाका जिल्ला सचिव पोखरेलले नै बागी उम्मेदवारी दर्ता गराएपछि काँग्रेसका जिल्ला अध्यक्ष शेरचनलाई प्रभाव पर्ने देखिन्छ । गत स्थानीय तह चुनावमा बागलुङ क्षेत्र २ (ख) मा गठबन्धनका वडा अध्यक्षहरुले १८ हजार ८ सय ८१ मत पाएको थियो ।

बागी उम्मेदवारी दिएका पोखरेलले शिर्ष नेताले एउटा संघ पाएपछि जनमतको वेवास्ता गरेकोले आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । उहाँले शिर्ष नेताले संघ पाएपछि सवै क्षेत्रलाई संघमा चढाएको बताउनुभयो । ‘शिर्ष तहले जनमतको वेवास्ता गर्यो,’ उहाँले भन्नुभयो–‘संघले सवै चढाउने काम भयो, जनमतको नै वेवास्ता गरेपछि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँम ।’

पोखरेलले पार्टी कमिटीले दबाब दिएपनि आफुले उम्मेदवारी फिर्ता नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘अहिलेसम्म कसैसँग छलफल भएको छैन । पार्टी कमिटीसँग छलफल हुने सम्भावना रहयो तर आज दर्ता गर्ने भोली फिर्ता गर्ने हुँदैन ।’

जनमोर्चाका जिल्ला सदस्य दिपक थापाले पनि गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । थापाले क्षेत्र २ प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उक्त क्षेत्रमा गठबन्धनबाट काँग्रेसका महाधिवेशन प्रतिनिधि दोर्ण कुँवरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पोखरेलले दुवै जनाले सल्लाह गरेर स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवार विरुद्ध काँग्रेसका नेता कृष्ण शंकर श्रेष्ठले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । श्रेष्ठको उम्मेदवारी दर्ता गराएपछि गठबन्धनका शीर्ष नेताहरु चित्रबहादुर केसीलाई प्रभाव पर्ने देखिन्छ । पूर्व जिल्ला कोषाध्यक्ष श्रेष्ठले बागी उम्मेदवारी दिनुले यहाँका कांग्रेसीको मत काट्न सक्ने आँकलन कांग्रेस नेताहरुको छ । गत स्थानीय तह चुनावमा बागलुङ १ का वडाहरुमा कांग्रेस एक्लैले १९ हजार मत पाएको थियो ।

त्यसमध्ये उल्लेख्य मत काटेर गठबन्धनका उम्मेदवारलाई हराउने श्रेष्ठको आत्मविश्वास देखिन्छ । ‘कांग्रेसका साथीहरुले मलाई मत दिनुहुन्छ, यही मतकै आधारमा मैले चित्रबहादुरसँग प्यारलल मत ल्याउँछु,’ श्रेष्ठले भन्नुभयो ।

श्रेष्ठले असन्तुष्ट कांग्रेसी कार्यकर्ताको मत काटेर चित्रबहादुर केसीलाई हराउने बताउँदै गर्दा कांग्रेसकै केही नेता भने श्रेष्ठले अन्तिममा आफ्नो उम्मेदवारी फिर्ता लिने बताउँछन् ।

बागलुङ कांग्रेसका पूर्व सभापति दीपेन्द्र थापाले भने श्रेष्ठले समानुपातिकमा नाम नपाएपछि प्रत्यक्षमा बागी दिएको र पार्टीले सम्झाएपछि उम्मेदवारी फिर्ता लिने विश्वास गर्नुहुन्छ । श्रेष्ठ पार्टीप्रति बफादार व्यक्ति भएकाले पार्टी निर्णय विपरित बागी उम्मेदवारी कायम नगर्ने उहाँको अपेक्षा छ । ‘पहिला समानुपातिकमा नाम थियो, पछि काटिएपछि चित्त दुख्यो होला । बागी राख्ने होइन, उहाँ संस्थाप्रति जिम्मा लिन सक्ने मान्छे हो,’ उहाँले भन्नुभयो, ‘बसेर सल्लाह गरेपछि उहाँले उम्मेदवारी कायम गर्नुहुन्छ जस्तो लाग्दैन ।’

बागी उम्मेदवारी दिनुभएका श्रेष्ठ पनि उम्मेदवारी फिर्ता लिन सक्ने सम्भावना बाँकी नै रहेको बताउनुहुन्छ । निकट व्यक्तिहरुले चुनाव नलड्न आग्रह गरे आफू ब्याक हुने उहाँको तर्क छ । ‘अब नलड्नुस् भनेर साथीहरुले भने म एक्लै लडेर काम भएन,’ उहाँले भन्नुभयो ।

श्रेष्ठ अहिले चुनाव लड्न दृढ रहेको र उठेमा चित्रबहादुर केसीसँग प्यारलल मत ल्याउने आत्मविश्वास राख्नुहुन्छ । आफू लडेपछि चित्रबहादुर केसीलाई अप्ठेरो उकालो चढ्नुपर्ने स्थितिको सिर्जना भएको उहाँको भनाई छ ।

यता राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उम्मेदवार पियारी थापा भने कसैको बागी उम्मेदवारीले बागलुङमा जनमोर्चालाई अप्ठेरो नपर्ने बताउनुहुन्छ । बागी दिनेहरु पनि पछि स्वतः ब्याक हुन बाध्य बन्ने उहाँको टिप्पणी छ । ‘पार्टीको निर्णय विपरित जानु भएन, गइहाले पनि ब्याक हुनुपर्छ नै । त्यही पनि कसैको बागीले बागलुङमा जनमोर्चालाई अप्ठेरो पर्ने भन्ने हुँदैन,’ उहाँले भन्नुभयो । बागलुङमा जनमोर्चाको आधार र संगठन राम्रो भएकाले जो कोहीले बागी दिएपनि अप्ठेरो नपर्ने उहाँको दाबी थियो ।

गत स्थानीय चुनावको मत आँकडा हेर्ने हो भने यहाँ चित्रबहादुरलाई केही सहज पक्कै छ, तर कांग्रेसको मत काट्ने बागी उम्मेदवार उठे भने अप्ठेरो पर्न सक्छ । स्थानीय चुनावमा बागलुङ क्षेत्र नम्बर १ का वडामा गठबन्धनका दलले ३० हजार मत प्राप्त गरेका थिए । नेकपा एमालेले २१ हजार ९ सय र स्वतन्त्र उम्मेदवारहरुले ३ हजार ९ सय मत ल्याएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here