मासिए अर्ना, ६ वर्षमा २३ को मृत्यु

काठमाडौं, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन् । प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएका तीनवटा तत्कालै मरे। बाँकी १२ र तिनबाटै जन्मिएका आठवटा बच्चा निकुञ्जले जोगाउन नसकेको हो ।

संरक्षणमा गम्भीर नहुँदा चितवन राष्ट्रिय निकुञ्ज अर्नाविहीन भएको छ । ‘कुनै प्रजाति सारेपछि रोग, खानेकुरा, वासस्थानको लामो समयसम्म अनुगमन र व्यवस्थापन गर्नुपर्छ । बजेट पनि त्यहीअनुसार हुनुपर्छ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्वप्रमुख रामकुमार अर्याल भन्छन्, ‘अर्ना सक्षम नभएसम्म रोग, समस्या, ठाउँको निरन्तर अनुगमन हुनुपर्छ । प्रजाति ल्याउने, त्यसको लागी बजेट व्यवस्थापनको नीति नहुँदा पनि समस्या भएको हो ।’

निकुञ्जभित्रको पुरानो पदमपुरमा इन्क्लोजर अर्थात् खुला खोर बनाइएर राखिएको थियो । उक्त संरचना ४५ हेक्टर क्षेत्रफलमा बनाइएको थियो । बाघ, भालु, गैंडा, हात्तीबाट जोगाउन फराकिलो क्षेत्र समेटेर तारजालीले घेरिएको थियो । तर, बाँकी रहेका अर्ना पनि इन्क्लोजरको नियमित रेखदेख नहुँदा बाघ पसेर गत साता मारिदियो ।

पानी छिर्ने ठाउँबाट पसेर बाघले तीनवटै खाएको अनुमान निकुञ्जका कर्मचारीले गरेका छन् । अघिल्लो साउनदेखि मंसिरसम्म १० अर्ना मरेका थिए । केही २०७४ सालको बाढीमा परे। केही बाघको आक्रमण र केही प्राकृतिक कारणले मरे । निकुञ्जले स्याहारसुसार गर्न नसकेको संरक्षणकर्मी बताउँछन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here