वीपी स्मृति भवन निर्माणलाई तिब्रता दिने बागलुङ काँग्रेसको निर्णय

बागलुङ, १८ साउन । नेपाली काँग्रेस बागलुङले पार्टी कार्यालयका लागि निर्माण गर्ने भनिएको वीपी स्मृति भवनको निर्माण प्रक्रियालाई तिब्रता दिने निर्णय गरेको छ ।

नेपाली काँग्रेस बागलुङको मंगलबार बागलुङमा सम्पन्न आठौं बैठकले वीपी स्मृति भवनका लागि बैना गरिएको जग्गा तत्काल पास गरेर भवन निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको अध्यक्षतामा बसेको बैठकले साउन मसान्तभित्रै उक्त जग्गा पार्टीको नाममा पास गरिसक्ने निर्णय गरेको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले बताए ।

‘हामीले वीपी स्मृति भवनका लागि जग्गा बैनना गरिसकेको छौं,’ उनले भने,‘अब रकमको जोहो गरेर यो साउन मसान्त भित्र जग्गा पास गरिसक्ने र निर्माणका अन्य अभियानहरुलाई तिब्रता दिने निर्णय भएको छ ।’ बैठकले भवन निर्माणका लगि सहयोग जुटाउन सहयोगदाता सम्मान मापदण्डको ब्रोसर बनाउने, भवन निर्माण अभियानका लागि आर्थिक संकलन अभियानका लागि पार्टीका नेताहरुलाई जिल्लाका ८५ वटै वडामा परिचालन गर्ने समेत निर्णय गरेको छ । बैठकले पार्टी सदस्यता अभियानलाई तिब्रता दिँदै आगामी निर्वाचनका लागि फोटो सहितको मतदाता नावामली दर्ता गराउने सच्याउने तथा ठाउँ परिवर्तन गर्न चाहाने मतदाताहरुलाई सहजीकरण गर्नका लागि पार्टी पंक्ती परिचालन गर्ने पनि निर्णय गरेको शर्माले बताए ।

गत मंसिरमा जिल्ला समितिको १४ औं अधिवेसनपछि निर्वाचित भएको जिल्ला समितिले असार मसान्तसम्मको आयव्यय समेत सार्वजनिक गरेको छ । बैठकमा नेपाली काँग्रेस बागलुङका पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, पार्टीका क्षेत्रीय सभापति, महाधिवेसन प्रतिनिधि, जिल्ला समिति पदाधिकारी सदस्य र पालिका सभापतिहरुले पार्टीको अवस्थाको बारेमा धारणा राखेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here