बागलुङ, २२ असार । यातायात व्यवस्था कार्यालय बागलुङमा सेवाग्राहीलाई निरोगिताको प्रमाण पत्र दिने डाक्टर नै नक्कली भएको जिल्ला प्रहरी कार्यालय बागलुङले दाबी गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको प्रमाणपत्र वितरण गर्ने व्यक्तिलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।
धादिङ जिल्लाको धादिङबेशी नगरपालिका–५ का २७ बर्षिय राम अर्याल र नवलपुर जिल्लाको कावासोती नगरपालिका–९ बस्ने २१ बर्षिय गणेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो । उहाँले अवैध व्यक्तिले सेवाग्राहिको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा पोलिक्लिनिकमा पुगेर उनीहरुलाई रंगेहात पक्राउ गरेको बताउनुभयो ।
डाक्टरको अनुपस्थितिमा स्वास्थ्य परीक्षण सम्बन्धि जानकारी नभएको व्यवस्थापन संकाय अध्ययनरत व्यक्तिबाट शारीरिक चेकजाँच गरी निरोगिताको प्रमाणपत्र वितरण गरेको पाईएको प्रनाउ रानाले बताउनुभयो । उहाँले पोलिक्लिनिक बाट कुनै विवरण नभरिएको तर चिकित्सकको छाप दस्तखत भएको प्रमाणपत्र लगायत छाप, रसिद, स्ट्याम्प प्याडसमेत फेला पारेको बताउनुभयो ।
उनीहरूलाई अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।