
काठमाडौं, असार ०८ ।स्वास्थ्य मन्त्रालयले बिहीबार (भोलि)देखि पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड– १९ विरुद्ध खोप दिँदै छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरिएको हो। पहिलो मात्रा लगाएको २१ दिनपछि पुनः दोस्रो मात्राको खोप दिइनेछ। मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार यो खोपको दुई मात्रा लगाए मात्रै पुग्छ।
अन्य मुलुकमा पनि बालबालिकालाई दिइने फाइजर खोपको प्रभावकारिता देखिएकाले नेपालमा पनि सोही खोप प्रयोग गर्न लागिएको उनको भनाइ छ। ‘यो खोपको प्रभावकारिता हेरेर र अध्ययन गरेर हामीले खोप कार्यक्रम अघि सारेका हौँ,’ उनले भने, ‘पहिलो चरणमा जनसंख्या बढी भएका जिल्लाका बालबालिकालाई खोप दिइनेछ।’ उनका अनुसार साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ। यो खोप कार्यक्रम सञ्चालनको जिम्मेवारी राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रलाई दिइएको छ।
गण्डकी प्रदेशका कास्की र पूर्वीनवलपरासीका बालबालिकालाई खोप दिइनेछ। कर्णाली प्रदेशअन्तर्गत सुर्खेत र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप लगाइनेछ। खोप कार्यक्रमका लागि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र स्थानीय तहसँग समन्वय गरिएको छ। घरनजिकको स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय, खोप केन्द्र वा स्थानीय तहको कार्यालयमा खोप लगाउने व्यवस्था गरिनेछ।