जिसस निर्वाचनको तयारी, गठबन्धनको पल्लाभारी

बागलुङ, २४ जेठ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको चुनावमा जुटेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ ३१ गतेको लागि निर्वाचनको मिति निर्धारण गरेर आन्तरिक तयारीमा जुटेको हो । जिल्ला समन्वय समितिमा सत्तागठबन्धनको पल्लाभारी छ । दश मध्य एक वटा स्थानीय तह बाहेका नौ स्थानीय तहमा सत्तागठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तहको मत संख्याको आधारमा नेपाली काँग्रेसको एकल बहुमत पुग्छ । निर्वाचन अघि जिल्ला समन्वय समितिको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । समन्वय समितिको लागि आवश्यक बहुमत एकल रुपमा पुग्ने भए पछि स्थानीय तहमा एक सिट पनि नजितेको समाजवादीलाई समन्वय उमप्रमुख दिने नदिने विषयमा काँग्रेस वृत्तमा छलफल सुरु भएको छ ।

काँग्रेसका केही पक्ष सहमति कार्यान्वयन गर्नुपर्ने र केही नेताहरु उपप्रमुख काँग्रेसले नै लिनुपर्ने सिराबाट छलफल गरेका छन् । यद्यपी काँग्रेस जिल्ला नेतृत्व विगतको सहमति कार्यान्वयन गर्ने पक्षमा छ । ‘हामीले सहमति कार्यान्वयन गरेर जान्छौँ’’ नेपाली काँग्रेस जिल्ला सभापति जितबहादुर सेरचनले भन्नुभयो–‘कसैले सडकमा भन्दैमा सहमति तोडिन्न ।’

स्थानीय तह निर्वाचन अघि समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा, उपप्रमुख एकीकृत समाजवादी, पाँच सदस्य नेपाली काँग्रेस र दुई सदस्य नेकपा माओवादी केन्द्रले लिने सहमति भएको सभापति सेरचनको भनाई छ ।

काँग्रेसले छ स्थानमा पालिका प्रमुख र पाँच स्थानमा पालिका उपप्रमुख गरी ११ पद जितेको छ । जिसस नेतृत्वको लागि एकल बहुमत पुगे पनि प्रमुख र उपप्रमुख जनमोर्चा र नेकपा एसले पाउने छन् ।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समान चार÷चार सिट जितेका छन । नेकपा एमाले एक सिटमा खुम्चिएको छ । एमालेको मतभार एक मात्रा छ । जिससमा कुल २० मत हुन्छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा काठेखोला गाउँपालिका–४ तंग्रामको वडा सदस्यमा निर्वाचत भएको हुँदा थापा नै समन्वय प्रमुखको उम्मेदवारी बन्ने सम्भावना प्रबल छ । यस अघि नेकपा एमालेको समर्थनमा जनमोर्चाको तर्फबाट राजेन्द्र ढुङ्गाना समन्वय प्रमुख निर्वाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन–२०७९ को कार्यविधिअनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको बढीमा १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । जिससमा एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बागलुङमा पहिलो पदभार ग्रहण जेठ ५ गते भएकाले आउँदो असार ५ गतेभित्रै जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनुपर्ने थियो । यसअघि २०७४ साल साउन १९ गते जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो ।

जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । जेठ २६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ ।

२७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य तालिका छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here