
बागलुङ, २५ बैशाख । नेकपा एमाले काठेखोला गाउँपालिकाले वडा नम्बर ८ लेखानीमा आईतबार चुनावी सभा सम्पन्न गरेको छ ।
उक्त सभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले सम्मुखमा आइरहेको स्थानीय तह निर्वाचनका लागि देशभर एमालेको पक्षमा जनलहर आएको दावी गर्नुभएको छ । सापकोटाले नेकपा एमालेले राष्ट्रिय स्वाधीनतामा लिएको अडान, लोककल्याणकारी राज्य निर्माणमा गरेको नेतृत्वदायी भूमिका, सामाजिक न्याय सहितको आर्थिक विकास र समाजवाद तर्फको यात्रामा हस्तक्षेपकारी भूमिका निर्वाह गरेका कारण जनताको एमाले प्रति आकर्षण बढेको उहाँले बताउनुभयो ।
जनतामा मुर्झाएका सपना केपी ओलीले ब्यूताएर आमजनतालाई मुलुकमा केही गर्न सकिन्छ भन्ने भावनाको विकास गराउनुका साथै मुलुकको समद्धिका लागि स्पष्ट योजना र कार्यक्रम अगाडि बढाएकै कारण आगामी स्थानीय निर्वाचनमा एमालेलाई जनताले जिताउने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश कमिटिका सदस्यहरु डिल्लीराज गौतम, हुमाकुमारी जि.सी.(अञ्जु), रामबहादुर जिसी, हरिनारायण गौतम र विश्व गौतम (सुवास), जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी काठेखोला गाँउपालिकाका अध्यक्ष हिरालाल कंडेल, नेकपा एमाले काठेखोला गाउँपालिकाका उपसचिव नर बहादुर खत्री लगायतले स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारहरुलाई विजयी गराउन अव्हान गर्नुभएको थियो ।
नेकपा एमालेका तर्फबाट काठेखोला गाउँपालिकामा अध्यक्षका उम्मेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उम्मेदवार कोपिला पुन, वडा नं. ८ का वडा अध्यक्षका उम्मेदवार चित्रकला छन्त्याल श्रीस, वडा सदस्यका उम्मेदवारहरु चन्द्रकुमार पुन, धनमाया वि.क, इश्वरी पुन र केदारनाथ कंडेलले नेकपा एमालेको नीति, सिद्धान्त, कार्यक्रम र नेतृत्वको दुरदर्शी निर्णयका आधारमा पालिका र वडामा काम गर्ने प्रतिवद्धता सहित आफुहरुलाई जिताउन आव्हान गर्नुभएको थियो ।
एमाले काठेखोला वडा नं. ८ का वडा अध्यक्ष डम्बरसिंह घर्तिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पालिका कमिटि सचिवालय सदस्य बेल बहादुर जिसी र स्वागत वडा कमिटि उपसचिव देव श्रीसले गर्नुभएको थियो ।
काठेखोला वडा नंंं. ८ लेखानीमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । एमालेले वडा अध्यक्ष, दलित महिला सदस्य, खुल्ला महिला सदस्य र एक जना खुल्ला सदस्य तथा राप्रपाले एक जना खुल्ला सदस्यमा उमेदवारी दिनुभएको छ ।