बागलुङ, १६ बैशाख । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले चुनावी अभियानलाई तिब्र पारेको छ ।
नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवं वडा अध्यक्ष सहितका उम्मेदवारहरुले शुक्रबार काठेखोला–२ भीमापोखरामा चुनावी अभियान सम्पन्न गरेको छ ।
भीमापोखरामा भएको चुनावी अभियानमा बोल्दै नेकपा एमाले काठेखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार डिल बहादुर कार्कीले समृद्ध काठेखोला निर्माण गर्नको लागि सुर्य चिन्हमा मतदान गरी विजयी गराउनुपर्ने बताउनुभयो । उहाँले काठेखोलाको चौतर्फी विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
अध्यक्ष पदका उम्मेदवार कार्कीले काठेखोलामा पछिल्लो पाँच वर्षमा एमालेको नेतृत्वले विकास र समृद्धिको जग बलियो बनाएको बताउँदै राम्रो कामलाई निरन्तरता दिने बताउनुभयो । उहाँले आफ्नो प्राथमिकता युवाहरुलाई स्वरोजगार बनाउने रहेको बताउँदै सिप विकास तालिम केन्द्रको कार्यालय काठेखोलामा खेल्न आफुले पहल गर्ने बताउनुभयो । ‘अहिले युवा शक्ति विदेश पलायन भइरहेको छ, त्यसलाई रोक्नु अहिले चुनौतीको विषय रहेको छ,’ कार्कीले भन्नुभयो–‘त्यसको लागि सिप विकास तालिम खोल्ने र युवा शक्तिहरुलाई सिप सिकाएर यही स्वरोजगार बनाउने पहिलो प्राथमिकता रहेको छ ।’
उहाँले काठेखोला बासीहरुको सरसल्लाह र साथ सहयोगले आफु अगाडी बढने र काम गर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत पूर्वाधारको काम निरन्तर हुने बताउनुभयो । कार्कीले काठेखोलाको चौतर्फी विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
त्यसैगरी काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका वडा अध्यक्ष पदका उम्मेदवार विद्यापति शर्माले पाँच वर्षमा निरन्तर विकास निर्माणको क्षेत्रमा काम गरेको बताउनुभयो । उहाँले चुनावको बेला केहि काम नगरेको भन्नेहरुलाई जनताले वडामा भएको विकास निर्माणको कामलाई देखाएर प्रश्न सोध्न अनुरोध गर्नुभयो ।
शर्माले आफ्नो कार्यकालमा सुरु भएका विकास निर्माणका कामलाई निरन्तरता दिन र समृद्ध भीमापोखरा निर्माण गर्नको लागि वडा अध्यक्षमा पुनः आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले वडा विकासको सपना साकार पार्नको लागि सूर्य चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गर्नुभएको थियो ।
उहाँले आफुले वडाको विकासमा जस्तोसुकै परिस्थितिमा पनि एक भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
काठेखोला गाउँपालिका वडा नं. २ मा नेकपा एमालेको चुनावी अभियान अन्तरगत दपासा, काप्रे, सिम, मुल्ठाना लगायतका स्थानमा टोल सभा तथा घरदैलो कार्यक्रम समेत सम्पन्न भएको छ ।