
बागलुङ, १३ बैशाख । नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नं. १ का सभापति गणेश नेपालीले स्थानीय तह निर्वाचनका लागि उमेदवार छनोटमा अन्याय भएको भन्दै आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।
उमेदवार छनोटमा भएको अन्याय, स्वेच्छाचारिता र कुनै निश्चित समुदायको अस्तित्व स्वीकार नगर्ने दम्भ, अहंकारी प्रवृति प्रति गंभिर आपत्ती प्रकट गर्दै नेपालीले मंगलवार पार्टीको सभापति र नेपाली कांग्रेसको साधारण सदस्य समेतबाट राजिनामा दिनुभएको छ ।
नेपाली कांग्रेसले आफुलाई सबै भन्दा लोकतान्त्रिक र परिस्कृत पार्टीको रुपमा दावी गर्दै आएको चर्चा गर्दै नेपालीले निश्चित समुदायको अस्तित्व स्वीकार नगर्ने प्रवृतिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । समाजमा न्याय, समानता, अवसरको समान बाँडफाँडको लागि लामो समयदेखि समाज, आन्तरिक पार्टी र समुदायसंग निरन्तर लड्दै आएको विज्ञप्तीमा उल्लेख छ । दलित समुदायको उत्थानका लागि क्रियाशिल नेपालीले सांकेतिक रुपमा नेपाली कांग्रेसले दलितको अस्तित्व स्वीकार नगरेको उल्लेख गर्नुभएको छ ।
नेपालीले काठेखोला गाउँपालिका वडा नंं १ को वडा अध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको जानकारी गराउदै सहयोगका लागि वडावासीमा अपिल गर्नुभएको छ ।