
गलकोट, १३ बैशाख । बागलुङ जिल्लाको गलकोट नगरपालिकाको मेयर पदका लागि ६ जनाको उम्मेदवारी परेको छ ।
सोमबार सम्पन्न भएको मनोनयनमा ३ जना स्वतन्त्र उम्मेदवार सहित ६ जनाले मेयरमा उम्मेदवारी दिएको गलकोट नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नेत्रप्रसाद भुषाले जानकारी दिनुभयो । मेयरको लागि सत्तागठबन्धनबाट नेपाली काँग्रेसका भरत शर्मा गैरे, नेकपा एमालेका पूर्ण काउचा, राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्मर बहादुर केसी र मन्जु शर्मा चालिसे, गुमानसिंह बुढाथोकी र दिपेन्द्र साहानीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
स्वतन्त्र उम्मेदवारी दिएकी चालिसे नेपाली काँग्रेसकी जल्ला सदस्य हुनभने बुढाथोकी नेकपा माओवादी केन्द्रका नेता हुन् ।
यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा तीन जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपप्रमुखमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे नेकपा एमालेकी रुपा विक र स्वतन्त्र तिल बहादुर उप्रेतीले उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवार दिएका उप्रेती माओवादी केन्द्र गल्कोट नगरका अध्यक्ष हुन् ।
गल्कोट नगरपालिकामा १ नगरप्रमुख, १ उपप्रमुख, ११ वडा अध्यक्ष, ११ दलित महिला सदस्य ११ महिला सदस्य र २२ खुल्ला सदस्य पदको लागि कूल ५७ पदमा १ सय ३३ जनाले उम्मदवारी दर्ता गराएको निर्वाचन अधिकृत भुषाले जानकारी दिनुभयो ।
गलकोट नगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमाले सहित स्वतन्त्र रुपमा समेत उम्मेदवारी गर्दा गराएका छन् ।