बागलुङका दश वटै स्थानीय तहमा काँग्रेसका उम्मेदवार छनोट

बागलुङ, १२ बैशाख ।नेपाली काँग्रेस जिल्ला समिति बागलुङले जिल्लाका दश वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

सत्तागठबन्धनसँग आइतबार राती भागवण्डामा सहमति जुटे पछि काँग्रेसले आफ्नो भागमा परेका स्थानीय तहमा पालिका प्रमुख र उपप्रमुख उम्मेदवार छनोट गरेको हो ।

काँग्रेसले बागलुङ नगरपालिकको प्रमुखमा बसन्त कुमार श्रेष्ठ, काठेखोला गाउँपालिकामा प्रमुखमा राजु थापा, गलकोट नगरपालिका प्रमुखमा भरत शर्मा गैरे, बडिगाड गाउँपालिका अध्यक्षमा गण्डकी थापा, तमानखोला गाउँपालिका अध्यक्षमा जोकलाल बुढा र निसीखोला गाउँपालिका अध्यक्षमा सुर्यमान घर्ती सिफारिस भएको पार्टी सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

काँग्र्रेसको भागमा परेको जैमिनी नगरपालिका उपमेयरमा हरिहर शर्मा, ढोरपाटन नगरपालिका उपमेयरमा धनबहादुर कायत ‘कल्याण’, बरेङ गाउँपालिका उपाध्यक्षमा दिलीप कुमार पुन र ताराखोला गाउँपालिका उपाध्यक्षमा भीमबहादुर रोका सिफासिर हुनुभएको छ । सत्ता गठबन्धनबीच भागवण्डमा समस्या हुँदा आइतबार मनोनयन दर्ता हुन सकेन ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टी पनि भागवण्ड अनुसार उम्मेदवार छनोटमा व्यक्त छन् । नेकपा एमालले सोमबार विहान सबै स्थानीय तह र वडामा उम्मेदवार टुङगो लगाएको हुँदा उम्मेदवारी दर्ताको तयारी भैरहेको पार्टी प्रचार विभाग प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसले छनोट गरेका उम्मेदवार मध्ये बसन्तकुमार श्रेष्ठ र गण्डकी थापा पहिलो स्थानीय तहमा पराजित हुनुभएको थियो । भरत शर्मा गैरे र जोकलाल बुढा गाउँपालिका प्रमुखमा निर्वाचन हुनुभएको थियो । राजु थापा र सूर्यबहादुर घर्ती पहिलो पटक उम्मेदवारी दिँदै हुनुहुन्छ ।

गठबन्धनको बैठकले नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय गरेको थियो । कांग्रेसको भागमा बागलुङ नगरपालिका, गलकोट नगरपालिका प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको प्रमुख, माओवादी केन्द्रको भागमा ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुख र राष्ट्रिय जनमोर्चाको भागमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिका प्रमुख परेको छ ।

बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उप–प्रमुखमा पाएको छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओबादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । नेकपा एकिकृत समाजबादीले तमानखोला गाउँपालिकाको उप–प्रमुख पाएको छ । पहिलो स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा नेकपा एमालले प्रमुख पदमा जितेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here