वडाबाट अपांगता परिचय पत्रको सिफारिस नपाएकी पार्वतीको विद्रोह, मेयरमा स्वतन्त्र उम्मेदवारी

सविन लामिछाने
दमौली, १२ बैशाख । जिल्लाको व्यास नगरपालिका वडा नं ९ की पवित्रा कार्कीलाई १० वर्षअघि बाथ रोगले च्याप्यो । उनी उपचारको लागि काठमाडाैँ गईन् । उनलाई चिकित्सकले केही औषधी दिएर घरमै आराम गर्न सुझाव दिए । त्यसपछि उनी घरमै आराम गरेर बस्न थालिन् । केही वर्षपछि उनको दुर्घटना भयो र घाइते भईन् । त्यसपछि उनले बाथ रोगको औषधी सेवन गर्न छोडिन् ।

औषधी सेवन गर्न छोडेको तीन वर्षपछि उनको खुट्टाको जोर्नीले काम गर्न छोड्यो । र फलस्वरूप उनी शारीरिक रुपमा अपाङ्ग भइन् । हाल उनी उभिनै सक्दिनन् । उनले खुट्टाको उपचारको लागि भारत जाने सोच राखिन् र अपाङ्गगता परिचय पत्रको लागि वडा कार्यालयमा निवेदन दिइन् । तर पटक पटक वडा कार्यालय र नगरपालिका धाउँदा पनि उनले अपाङ्गगता परिचय पत्र पाइनन् । त्यसपछि उनले आफ्नो गुनासो पोख्ने ठाँउ कतै भेटिनन् ।

वडा कार्यालयबाट सिफारिस र अपाङ्गगता परिचय पत्र नपाउँदा उपचार नभएको भन्दै उनी घरमै बसिन् । स्थानीय तह निर्वाचनका लागि उनले आइतबार व्यास नगरपालिकाको मेयरका लागि मनोनयन दर्ता गरेकी छिन् । स्वतन्त्रबाट मनोनयन दर्ता गराउँदै उनले नगरपालिकाप्रति विरोध व्यक्त गरेकी हुन् । उनलाई राजनीतिमा आउनु र आफु नेता बन्नु भन्ने कुनै पनि ईच्छा थिएन् । तर स्थानीय तहले उनीप्रति गरेको भेदभावको कारणले साङकेतिक विरोध गर्दै उम्मेद्धवारी दिएकी हुन् ।

“मलाई राजनीतिमा आउने कुनै रहर, इच्छा छैन । नगरपालिकाले गरेको भेदभावकै कारण मलाई उम्मेदवारी दिने प्रेरणा मिलेको हो,” उनले भनिन्, “वडा कार्यालयले सिफारिस गर्दिएको भए अहिले मेरो उपचार हुन्थ्यो । तर मलाई नगरपालिकाले भेदभाव गर्यो, अपांग भइरहन बाध्य बनायाे ।”

उनले मनोनय दर्ता गरे पनि प्रचार-प्रसारमा भने नहिड्ने बताइन् । कार्कीले भनिन्, “कसैलाई केही पनि भन्दिनँ, प्रचार-प्रसारमा पनि हिडदिनँ। घरमै बस्छु, चुनावको नतिजा सुनेर बस्छु ।”

९ स्थानीय तहमा मनोनय दर्ता

उम्मेदवारी दर्ताको पहिलो दिन तनहुँमा ७३ जनाले मनोनय दर्ता गरेका छन् । जस अनुसार व्यास नगरपालिकामा २२,म्याग्दे गाँउपालिकामा २, भानु नगरपालिकामा १६,आँबुखैरेनी गाँउपालिकामा ३, देवघाट गाँउपालिकामा ४, शुक्लागण्डकी नगरपालिकामा ६, भिमाद नगरपालिकामा ७,ऋषिङमा १२ जनाले मनोनय दर्ता गरेका छन् ।

त्यस्तै यता घिरिङ गाँउपालिकामा पहिलो कुनै दलपनि मनोनयन दर्ता गर्न गएनन् ।

व्यासमा प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुको उम्मेदवारी परेको हो । नगरपालिकाको प्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ । विवेकशील साझाबाट रमेशप्रसाद आचार्य र मङ्गोल नेशनलबाट अनिता थापा मगरको उम्मेदवारी परेको छ । उपप्रमुखमा मङ्गोल नेशनलबाट श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा व्यास–३ मा विवेकशील साझाबाट नन्दबहादुर थापा, व्यास–४ मा मङ्गोल नेशनलबाट भक्तबहादुर गुरुङ, व्यास–५ मा मङ्गोल नेशनलबाट बेलीसरा थापा र राप्रपाबाट सीताराम शाही, व्यास–१० मा स्वतन्त्रबाट सागर घिमिरे, व्यास–११ मा विवेकशील साझाबाट दीपक पन्थ, व्यास–१३ मा मङ्गोल नेशनलबाट शम्भु थापा मगर र जनता समाजवादी पार्टीबाट दीपक थापाको उम्मेदवारी परेको छ ।

महिला वडा सदस्यमा व्यास–३ मा जसपाबाट धनमाया गौली, व्यास–५ मा राप्रपाबाट शीला शाही, दलित महिला सदस्यमा व्यास–५ मा राप्रपाबाट तारा सुनार, खुल्ला सदस्यमा व्यास–५ मा मङ्गोल नेशनलबाट इमानसिंह आले, राप्रपाबाट नरसिं दरै र चोखमान श्रेष्ठ, व्यास–६ मा जसपाबाट राजकुमार सार्की, व्यास–११ मा विवेकशील साझाबाट कमल गुरुङ र व्यास–१३ मा जसपाबाट सुविलाल आलेको उम्मेदवारी दर्ता भएको छ ।

शुक्लागण्डकीमा ६ जनाले मात्रै मनोनयन दर्ता गराएका छन् । स्थानीय तह निर्वाचनका लागि दुई मेयर सहित ६ जनाले मनोनय दर्ता गराएको सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले बताए । मेयरमा मंगोल नेशनल अर्गनाइजेसनका नमबहादुर थापा र उन्नत लोकतन्त्र पार्टीका जगदीश काफ्लेले मनोनय दर्ता गराएका हुन् ।

शुक्लागण्डकी नगरपालिका–६ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेसनका फणिन्द्रबहादुर राना र महिला वडा सदस्यमा बसन्ती थापाको पनि मनोनयन दर्ता भएको छ । शुक्लागण्डकी–७ को वडाध्यक्षमा तुलसीप्रसाद पौडेल र शुक्लागण्डकी–११ को वडाध्यक्षमा सन्तोष मल्लले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

भानु नगरपालिकामा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । एक नगर उपप्रमुख सहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ । बन्दीपुर गाउँपालिकामा एक जनाको मात्रै उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट केशव अधिकारीको उम्मेदवारी परेको छ ।

ऋषिङ गाउँपालिकामा १२ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा एक, उपाध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ ।त्यस्तै वडाध्यक्षमा तीन जना र वडा सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ ।

म्याग्दे गाउँपालिकामा दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । दुई फरक पार्टीले अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । अध्यक्षमा मौलिक जरो किलो पार्टीबाट टोलराज वाग्ले र उपाध्यक्षमा राष्ट्रिय जनमुक्ती पार्टीका केशरबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

आँबुखैरेनीमा तीन जनाको उम्मेदवारी परेको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा विवेकशील साझाबाट उत्सव अधिकारी र राप्रपाबाट इमबहादुर केसीको उम्मेदवारी परेको छ । त्यस्तै स्वतन्त्रबाट आँबुखैरेनी गाउँपालिका–३ को अध्यक्षमा एक जनाको उम्मेदवारी परेको छ ।

भिमाद नगरपालिकामा राप्रापाका उम्मेद्वारले मात्रै मनोनयन दर्ता गराएको छन् । मेयर उपमेयर सहित सात जनाले मनोनयन दर्ता गराए । मेयर, उपमेयर, चार जना वडाध्यक्ष र एक वडासदस्यको मनोनयन दर्ता भएको हो ।

तनहुँका १० वटै स्थानिय तहमा जिल्लामा क्रियाशिल अन्य दल भने पहिलो दिन मनोनयन दर्ता गराउन आएनन् । दिनभर निर्वाचन अधिकृतको कार्यालय सुनसान रह्यो । सोमबार निकै भिडभाड हुने अनुमान गरिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here