बागलुङमा गठबन्धनको भागबण्डा : कांग्रेस ६, माओवादी र जनमोर्चालाई २/२ पालिका

बागलुङ, १२ बैशाख । बागलुङमा सत्तारुढ गठबन्धनले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । आइतबार मध्यरातमा केन्द्रको निर्देशनपछि गठबन्धनबीच चुनावी तालमेलबारे सहमति जुटेको हो ।

सहमतिअनुसार १० वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले २ र राष्ट्रिय जनमोर्चाले २ वटा पालिका प्रमुख पाउने भएका छन् । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसलाई ४, माओवादी केन्द्रलाई ३, राष्ट्रिय जनमोर्चालाई २ र नेकपा एकीकृत समाजवादीलाई १ वटा पालिका बाँडफाँड गरिएको छ ।

मध्यरातको सहमती अनुसार काँग्रेसले बागलुङ नगरपालिकाको प्रमुख, गल्कोट नगरपालिका प्रमुख, काठेखोला गाउँपालिका अध्यक्ष, बडिगाड गाउँपालिका अध्यक्ष, निसीखोला गाउँपालिका अध्यक्ष र तमानखोला गाउँपालिकामा अध्यक्ष पाएको छ । यस्तै काँग्रेसलाई जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाको प्रमुख, बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाको उपाध्यक्ष मिलेको छ ।

माओवादी केन्द्रले ढोरपाटन नगरपालिकाको प्रमुख, ताराखोला गाउँपालिकाको अध्यक्ष भागबन्डा मिलेको छ । माओवादीलाई बागलुङ नगरपालिका र गल्कोट नगरपालिकाको उपप्रमुख तथा निसीखोला गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्ष सहित काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।

पालिका र वडा तहको बाँडफाँडमा कुरा नमिलेपछि सत्तागठबन्धनको बैठक आईतबार साँझ अवरुद्ध भएपनि मध्यरातमा केन्द्रको निर्देशनपछि जिल्लामा गठबन्धन विच सहमति भएको हो । लामोसमय देखि गठबन्धनको छलफल भएपनि बागलुङ नगरपालिकाको उपप्रमुख र जिल्ला समन्वय समितिको प्रमुख तथा केहि वडा अध्यक्षमा कुरा नमिलेपछि एकीकृत समाजवादी बैठकबाट बाहिरिएको थियो । आईतबार विहान सत्ता गठबन्धनका काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले एकीकृत समाजवादीलाई बाहिर राखेर पालिकाको भागबण्डा गरेपनि साँझ वडा तहको भागबण्डामा सहमती नहुँदा राष्ट्रिय जनमोर्चा पनि छलफलबाट बाहिरिए पछि बैठक अबरुद्ध भएको थियो ।

केन्द्रको निर्देशनपछि विवाद भएको तमानखोला गाउपालिकाको उपाध्यक्ष र बागलुङ नगरपालिका–२ को वडा अध्यक्ष नेकपा एकिकृत समाजवादीले पाएको छ । काठेखोला–४ तंग्राम र बागलुङ नगरपालिका–१२ को वडाध्यक्ष जनमोर्चाले पाएको छ ।

यस्तै जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा एकीकृत समाजवादीले पाउने गठबन्धनले सहमति गरेका छन् ।

सहमति पत्रमा नेपाली काँग्रेस बागलुङका सभापति जीत बहादुर शेरचन, नेकपा माअ‍ेवादी केन्द्रकी बागलुङ इन्चार्ज बलावती शर्मा, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अम्मर बहादुर थापा र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र प्रसाद सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here