
बागलुङ, ११ बैशाख । स्थानीय तह निर्वाचन मनोनयनको पहिलो दिन आईतबार बागलुङका ठूला राजनीतिक दलहरुले दशवटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएनन् । उम्मेदवार टुंगो नलागेपछि नेकपा (एमाले) र सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलले उम्मेदवारी दर्ता नगराएका हुन ।
आईतबार केही स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन् । पहिलो दिन स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालय सुनसानजस्तै भएको सो कार्यालयका अधिकारीहरुको भनाई छ । उम्मेदवारी दिने प्रयोजनका लागि कार्यालयबाट उम्मेदवारी फर्म लगे पनि दर्ता गर्न राजनीतिक दल कार्यालय नआएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले जानकारी दिनुभयो ।
सत्तागठबन्धनले भागबण्डा टुङ्ग्याउन सकेको छैन । नेकपा (एमाले)ले पनि बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखको टुंगो लगाउन नसक्दा मनोनयन रोकिएको छ । सर्वसम्मत पालिका प्रमुख र उपप्रमुख चयन भएको स्थानीय तहमा पनि एमालेले उम्मेदवारी दर्ता गरेको छैन ।
सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन फुट्ने र गठबन्धनबाट अलग भएको पार्टी एमालेसँग चुनावी एकता गर्न सक्ने अपेक्षाले सर्वसम्मत उम्मेदवार टुंगो लागेको मात्र स्थानीय तहमा एमालले उम्मेदवारी घोषणा गरेको छ ।
उम्मेदवारी दर्ताको पहिलो दिन राप्रपा नेपाल र स्वतन्त्र गरी २० जनाले उम्मेदारी दर्ता गरेका छन् । पहिलो दिन बागलुङ नगरपालिकामा ताराकुमारी रिजालले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा बागलुङ नगरपालिकाका निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो ।
यस्तै जैमिनी नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रुद्रकुमारी रोका क्षेत्री, जैमिनी वडा–२ मा राप्रपाबाट वडाध्यक्षमा यज्ञप्रसाद सापकोटा र वडा–३ को वडा सदस्यमा स्वतन्त्र उम्मेदवार कृष्ण पाण्डे र वडा नम्बर ९ को वडाअध्यक्षमा मंगोल नेशनल अर्गनाईजेसनबाट सहबिर थापाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
नगर उपप्रमुखमा उम्मेदवारी दिनुभएकी क्षेत्री राष्ट्रिय जनमोर्चाकी नेता हुन् । जिल्लामा पाँच दलिय गठबन्धनको बैठक जारी रहेपनि उहाँले पार्टीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यस्तै ढोरपान नगरपालिकामा नगरप्रमुख सहित पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । ढोरपाटन नगरपालिकाको प्रमुखका लागि राप्रपाका तर्फबाट निम बहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत लाल सिंह थापाले बताउनुभयो । यस्तै राप्रपाकै तर्फबाट ढोरपाटन नगरपालिका वडा नम्बर ६ को वडाअध्यक्षमा तुल बहादुर भण्डारी र वडा सदस्यहरुमा मनिषा भण्डारी, जित बहादुर थापा र मुना भण्डारीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत थापाले बताउनुभयो ।
यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा होमनाथ कंडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको काठेखोला गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले बताउनुभयो ।
यस्तै बडिगाड गाउँपालिकामा राप्रपाको तर्फबाट पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । राप्रपाले वडा नम्बर ५ को वडाअध्यक्षमा शंकर खरेल, वडा सदस्यमा प्रेम खेल, जीवन घिमिरे, सीता आचार्य र मिना दर्जीको उम्मेदवारी दर्ता गराएको बडिगाड गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत सितादेवी सुवेदीले जानकारी दिनुभयो ।
यस्तै निसीखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष सहित राप्रपाले चार जनाको उम्मेदवारी दर्ता गरेको छ । गाउँपालिका अध्यक्षमा कृष्ण बहादुर मल्ल, उपाध्यक्षमा शान्तकुमारी चन्दले उम्मेदवारी दिनुभएको छभने वडा नम्बर ३ को वडाअध्यक्षमा रामचन्द्र शेन र वडा सदस्यमा होम बहादुर कुँवरले राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुभएको निसीखोलाका प्रमुख निर्वाचन अधिकृत गोविन्द गिरीले बताउनुभयो ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा भने उम्मेदवारी दर्तानै नभएको निर्वाचन अधिकृतहरुले जानकारी दिनुभयो ।