सरकारले निर्वाचन ढिला गरेर संविधान मिच्न खोज्योः एमाले सचिव अर्याल

बागलुङ, २३ माघ । नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्यालले सरकारले संविधान मिच्न खोजेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेकी सचिव अर्यालले सरकारले स्थानीय तहको निर्वाचन ढिलो गरेर संविधान मिच्न खोजेको बताउनुभएको छ । उहाँले सरकारले संविधानलाई कागजको खोस्टो बनाएर लोकतन्त्र समाप्त पार्ने खेलमा लागेको बताउनुभयो ।

सचिव अर्यालले स्थानीय तह जनप्रतिनिधि विहिन स्थितिमा रहन नसक्ने बताउँदै छिटो स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्नुभयो । ‘स्थानीय तह जनप्रतिनिधि विहिन रहन सक्दैन,’ सचिव अर्यालले भन्नुभयो–‘संविधान, कानुनले तोके अनुसार सरकारले बेलैमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ त्यसको लागि छिटो भन्दा छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।’

उहाँले एमसीसी संसदमा पेश भएपछि मात्र एमालले आफ्नो भनाई राख्ने बताउनुभयो । ‘एमसीसीको विषय संसदमा पेश नै भएको छैन त्यसैले एमालेले आफ्नो धारणा राखेको छैन्,’ उहाँले भन्नुभयो–‘एमसीसी संसदमा पेश भएपछि एमालेले आफ्नो धारणा त्यही राख्ने छ ।’ सचिव अर्यालले एमसीसी पास गर्न सत्ता गठबन्धनलाई एमालेको आवश्यक नै नपर्ने समेत बताउनुभयो । ‘एमसीसी पास गर्नको लागि बहुमतको आवश्यक पर्छ,’ सचिव अर्यालले भन्नुभयो–‘सत्ता गठबन्धसँग बहुमत छ, पास गर्न चाहे संसदमा लगेर पास गरे भयो ।’

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङका अध्यक्ष नविन शिशिर विकको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको संचालन उपसचिव अर्जुन कार्कीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here