
बागलुङ, ११ पौष । नेपाली काँग्रेस बागलुङको नवनिर्वाचित जिल्ला कार्यसमितिले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ ।
आईतबार बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले बागलुङ बजारमा आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको आईतबार पत्रकार सम्मेलन गरि जिल्ला सभापति जितबहादुर शेरचनले बताउनुभयो । उहाँले भवन निर्माणको लागि आर्थिक संकलन अभियान समेत सुरु भएको बताउनुभयो ।
पार्टी कार्यालयको भवन निर्माणको लागि पहिलो चरणमा जिल्ला सदस्य धर्म बहादुर क्षेत्रीले २ लाख ५० हजार, क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले २ लाख १ हजार १ सय ५१, जिल्ला सदस्य तेजेन्द्र विक्रम कुँवरले १ लाख, कृष्ण बहादुर घिमिरेले १ लाख, टिकाराम थापाले १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको सभापति शेरचनले बताउनुभयो । उहाँले जग्गाको खोजी गरि जिल्ला सदरमुकाम बागलुङ बजारमा भवन निर्माण गरिने जानकारी दिनुभयो ।
सभापति शेरचनले पहिलो बैठकले जिल्लामा संगठन सुदृढिकरण अभियान संचालन गर्नको लागि १० वटै पालिकामा संयोजक र सदस्यहरु तोकिएको बताउनुभयो ।
नेपाली काँग्रेस बागलुङले जिल्ला भित्र राष्ट्रिय गौरवका आयोजना निर्माण कार्यमा ढिलाई गर्ने विरुद्ध खबरदारी गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनको संचालन सचिव हरिहर शर्माले गर्नुभएको थियो ।









