एमाले बागलुङको अधिवेशनको लागि वडामा पौष १६ गते प्रतिनिधि चयन गरिने

बागलुङ, ६ पौष । नेकपा (एमाले) ले बागलुङ जिल्ला कमिटीको अधिवेशन पौष २३ गते बागलुङ बजारमा गरिने भएको छ । एमाले बागलुङ जिल्ला कमिटीको सोमबार बसेको बैठकले जिल्ला अधिवेशनको स्थान, प्रतिनिधि र विभिन्न उपसमितिहरु गठन गरेको छ ।

एमाले जिल्ला कमिटी बागलुङले मंगलबार पत्रकार सम्मेलन गरि जिल्ला कमिटीको नवौं बैठकले जिल्ला अधिवेशनका लागि ८५ वटै वडामा पौष १६ गते एकै दिन प्रतिनिधिहरु चयन गरिने निर्णय गरेको जनाएको छ ।

एमाले बागलुङका कार्यवहाक अध्यक्ष कृष्ण पाठकले अधिवेशनका लागि जिल्ला कमिटी, १० वटै पालिका, ८५ वटा वडा र जनसंगठनहरुबाट गरि ६ सय ३ जना प्रतिनिधिहरु चयन हुने बताउनुभयो । उहाँले ८५ वटा वडाबाट ३ सय ९ जना, जिल्ला कमिटीका १ सय ५६ जना, जनसंगठनहरुबाट २४ जना र १० वटा पालिकाबाट ३० जना प्रतिनिधिहरु अधिवेशनमा भाग लिने बताउनुभयो ।

काव अध्यक्ष पाठकले भौगोलिक क्षेत्र वडामा रहेका पार्टी सदस्यहरु मध्येबाट खुलातर्फ १० जना पार्टी सदस्यसम्म १ जना, २०जनासम्म १ महिला र १ खुला तथा ५० जनासम्ममा १ महिला र २ खुला, थप ३० जना सदस्यसम्म थप १ जना र हरेक ३ जनामा १ महिला अनिवार्य, भौगोलिक क्षेत्र वडामा रहेका दलित पार्टी सदस्यहरु मध्येबाट १० जना पार्टी सदस्यसम्म १ जना, २० जनासम्म १ महिला र १ खुला, थप २० जना सदस्यसम्म थप १ जना र हरेक ३ जनासम्म १ महिला अनिवार्य प्रावधान रहेको बताउनुभयो ।

यस्तै भौगोलिक क्षेत्र वडामा रहेका अल्पसंख्यक पार्टी सदस्यहरु मध्येबाट १० जना पार्टी सदस्यसम्म १ जना, थप १० जना सदस्यसम्म थप १ जना र हरेक ३ जनामा १ महिला अनिवार्य, हरेक पालिका कमिटीका पदाधिकारी र सदस्यहरु मध्येबाट १ जना महिला सहित तीन जना, जिल्लामा रहेका जनसंगठनका जिल्ला स्तरका कमिटीका पदाधिकारी र सदस्यहरु मध्यबाट पार्टी सदस्य रहेका दुई जना प्रतिनिधि चयन हुन पाउने प्रावधान रहेको बताउनुभयो । उहाले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु (पदेनसहित) आयोजकका हैसियतले अधिवेशनका प्रतिनिधि हुने बताउनुभयो ।

एमाले बागलुङले अधिवेशनको लागि प्रतिनिधि शुल्क १ हजार रुपैयाँ निर्धारण गरेको छभने प्रति पार्टी सदस्यहरुबाट १ सय रुपैयाका दरले अधिवेशनमा आर्थिक सहयोग लिने निर्णय गरेको सचिव विष्णु भुसालले जानकारी दिनुभयो ।

यस्तै एमाले बागलुङले अधिवेशन सम्पन्न गर्नको लागि समितिहरु गठन गरेको छ । प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा विष्णु भुषाल, प्रतिवेदन तयार समितिको संयोजकमा कृष्ण पाठक, हल मञ्च व्यवस्थापन समितिको संयोजक सम्पन्न श्रेष्ठ, सहसंयोजकहरु शेखर खड्का, रेशम घर्ती मगर र बुद्ध बोहोरा, खाद्य तथा आवास व्इवस्थापन समिति संयोजक गणेश थापा र सहसंयोजक पुनम प्रसाद शर्मा, प्रचारप्रसार समिति संयोजक धन बहादुर परियार, सहसंयोजक दिनेश शर्मा, अतिथि सत्कार समिति संयोजक अमर थापा र सहसंयोजकहरु गंगा शर्मा र कुमार खड्का, निर्वाचन समिति संयोजक विष्णुप्रसाद शर्मा, आर्थिक व्यवस्थापन समितिमा कृष्ण पाठक र विष्णु भुसाल, सांस्कृतिक व्यवस्थापन समिति सरस्वती खडका र शिव शर्मा र स्वास्थ्य समिति संयोजक रितुवर्ण पौडेल र सहसंयोजक भुमिराज घर्तीलाई चयन गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here