
काठमाडौं, ३ पौष । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ ।
उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन् तर महामन्त्रीमा देउवा समूहबाट उम्मेदवार बनेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल दुवै जना पराजित बने ।
सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दाम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव गरी ६ जना देउवा समूहबाट उम्मेदवार बन्दै निर्वाचित भएका हुन् । चौधरी कृष्ण सिटौला समूहका भए पनि महाधिवेशनमा सहकार्य भएको थियो ।
यसरी हेर्दा कांग्रेसको १३ पदाधिकारीमध्ये देउवा समूहतर्फका मात्रै ८ जना केन्द्रीय समितिमा निर्वाचित बनेका छन् । कांग्रेसले महासमिति बैठकबाट आफ्नो विधानमा संशोधन गर्दै पदाधिकारीको संख्या १३ पुर्याएको थियो । संशोधित विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको व्यवस्था छ ।
यसअघि १ सभापति, २ उपसभापति मनोनित, महामन्त्री १ निर्वाचित र १ मनोनित गरी २ जना र सहमहामन्त्री १ जना रहने व्यवस्था थियो तर देउवाले सहमहामन्त्रीमा एउटा संख्या थपेर सुनिल थापालाई मनोनित गरी ल्याएका थिए ।
कांग्रेस विधानमा कोषाध्यक्ष पनि पदाधिकारीमा रहने व्यवस्था छ तर सो पद निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पूर्ति गर्ने सुविधा विधानले सभापतिलाई दिएको छ ।
हालै सम्पन्न महाधिवेशनमार्फत कांग्रेसको देउवा टीममा उपसभापतिमा खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दम्बे, जीवन परियार, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, बद्री पाण्डे, उमाकान्त चौधरी र महेन्द्र यादव गरी १३ जना निर्वाचित बनेका छन् ।
उपसभापतिमा निर्वाचित बनेका खड्का देउवा टीमका निर्णयकर्ता मानिन्छन् । उनी हरेकजसो महत्त्वपूर्ण निर्णयमा देउवाको मुख्य सहयोगीका रूपमा देखिँदै आइरहेका छन् । महामन्त्रीमा निर्वाचित शर्मा पनि प्रवक्ताका रूपमा देउवा टीममा नै थिए तर महाधिवेशनअघि भने उनी प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका हुन् ।
महामन्त्रीमा निर्वाचित थापा र शर्मा आम कांग्रेस कार्यकर्ताले भरोसा र विश्वास गरेका २ पात्र हुन् । उनीहरू दुवैले १४औं महाधिवेशनमा पार्टीलाई रूपान्तरण गर्ने एजेन्डा अघि सारेका थिए । थापा डा. शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्दै निर्वाचित भए ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति पदमा ५ आकांक्षी मैदानमा उत्रिए तर मुख्य प्रतिस्पर्धा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच भयो । मत परिणामबाट कोइरालाले पराजय व्यहोर्दा देउवाले जिते ।
अहिले कोइराला समूहबाट उम्मेदवार बनेका धेरै नेताको कांग्रेस केन्द्रीय समितिमा इन्ट्री भएको छ । उपसभापतिमा कोइराला समूहका धनराज गुरुङ छन् । महामन्त्रीमा गगन थापा निर्वाचित भए भने सहमहामन्त्रीतर्फ दलित समूहमा जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित बनेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फ ८ जना निर्वाचित बनेका छन् । कांग्रेसले सहमहामन्त्रीतर्फ संविधानले तोकेको समावेशी व्यवस्थाअनुसार केन्द्रीय समितिमा ८ पद राखेको थियो ।
जसअनुसार खस आर्यतर्फ किशोरसिंह राठौर २ हजार ५७६ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवराज चालिसेले भने २ हजार ५९ मत ल्याएर पराजित भए ।
मुस्लिम समूहतर्फ फरमुल्लाह मन्सुर विजयी भएका छन् । उनले प्रतिस्पर्धी शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २ हजार ७७६ मत पाउँदा वकिलले १ हजार ८७१ मत पाए ।
पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित बनेका छन् । पाण्डे २ हजार ९ मत ल्याउँदै विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका जीवनबहादुर शाहीले भने १ हजार ८५२ मत मात्रै पाएका छन् । अर्का उम्मेदवार चेतराज बजालले ७५ मत पाएका छन् ।
थारू समूहतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित बने भने उनीसँग तेजुलाल चौधरी पराजित भए । उमाकान्त २ हजार ७५६ मत ल्याउँदै निर्वाचित भएका हुन् । कृष्णप्रसाद सिटौला समूहका उनी शेरबहादुर देउवासँग चुनावी तालमेल भएपछि उम्मेदवार बनेका थिए । थारू समूहबाट सहमहामन्त्रीका अर्का उम्मेदवार तेजुलालले भने १ हजार ८७७ मत प्राप्त गरे । तेजुलाल कोइरालाको समूहका उम्मेदवार हुन् ।
मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव निर्वाचित बन्दा रामकृष्ण यादव भने पराजित बन्न पुगे । महेन्द्र २ हजार ३३० मत ल्याउँदै मधेशी समूह तर्फबाट सहमहामन्त्रीमा निर्वाचित बनेका हुन् । उनीसँगै मैदानमा उत्रिएका रामकृष्णले भने १ हजार ८२० र रञ्जित कर्णले ४७२ मत मात्रै ल्याए ।
यसअघि बिहीवार राति आएको परिणामबाट नै सहमहामन्त्री पदमा ३ जना निर्वाचित भइसकेका छन् । बिहीवार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय, जनजातितर्फ भीष्मराज आङ्दाम्बे र जनजातितर्फ जीवन परियार निर्वाचित भएका थिए ।
उपाध्यायले २ हजार ५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २ हजार १०५ मत प्राप्त गरिन् । आङ्दाम्बेले २ हजार ७११ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी विकास लामाले १ हजार ९१३ मत प्राप्त गरेका थिए । परियारले २ हजार २१२ मत पाए भने मानबहादुर विश्वकर्मा २ हजार १७५ मत ल्याउँदै पराजित भएका थिए । राजधानीमा खबर छ ।









