प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई

काठमाडौ, २८ मंसिर ।  नेपाली कांग्रेसको भावी सभापतिका प्रत्यासी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ ।

सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । देउवासँगको भेटपछि नेता सिंहले देउवालाई नै समर्थन गर्ने जानकारी दिनुभयो ।

सिंहले देशभरीका महाधिवेशन प्रतिनिधि देउवाको पक्षमा देखिएकाले आफूले समर्थन गरेको उल्लेख गर्नुभयो । देउवाले निजी निवास चाक्सिबारीमा आएर समर्थन मागेपछि सिंहले सहयोग गर्ने वचन दिनुभएको हो ।

सिंहले आफूहरु नेतृत्व परिवर्तनको पक्षमा रहे पनि बहुमतप्राप्त महाधिवेशन प्रतिनिधिको साथ रहेकाले समर्थन गरेको जानकारी दिनुभयो ।

सभापति प्रत्यासी देउवाले सिंह र सुजाता कोइरालाको सदासयताप्रति धन्यवाद दिनुभयो ।

सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुँदैछ ।

समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याउनुभएको छ । सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here