
बागलुङ, ३ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष नरेश कंडेलले नेपाली काँग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिनुभएको छ ।
पत्रकार महासंघको विधान विपरित कंडेलले बागलुङ क्षेत्र नं. १ (क)बाट प्रदेश महाधिवेशन प्रतिनिधिका लागि उमेद्वारी दिनुभएको हो ।
पत्रकार महासंघको सदस्य रहेको व्यक्ति कुनैपनि राजनीतिक दलको प्रतिनिधि वा पदाधिकारी हुन नपाउने व्यवस्था रहेको केन्द्रिय महासचिव रोशन पुरीले बताउनुभयो ।
‘महासंघको सदस्य रहेको व्यक्तिनै राजनीतिक दलमा रहनुहुँदैन भन्ने छ, पदाधिकारी त हुनै भएन्’ पुरीले भने । पत्रकार महासंघमा राजनीतिकण मौलाउँदै गएका कारण पार्टीका कमिटि र प्रतिनिधिहरुमा पत्रकार देखिन थालेको पुरीको गुनासो छ ।
उद्योग बाणिज्य संघ बागलुङका महासचिव समेत रहनुभएको कंडेलले आफ्नो फेसबुकबाट प्रदेश महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिएको समाचार ‘हजुरहरुमा अनुरोध मलाई मौका दिनु होला, म हजुरहरुसँग सहकर्या गर्ने नै छु’ भन्ने स्टाटस लेखेर शेयर गर्नुभएको छ ।
पत्रकार महासंघको बिधान २०६० (चौथो सम्सोधन २०७३)को परिच्छेद– ८ आचार संहिता बुँदा नं. ३२ (ख)ले ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन ।’ भन्ने व्यवस्था गरेको छ ।