
बागलुङ, २६ कात्तिक । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको रौनक फेरि बढेको छ । वडा र पालिका तहको अधिवेसन सम्पन्न भएपछि केही समय अन्यौलमा रहेको अधिवेशनको मिति तय भएसंगै रौनकता बढेको हो ।
नेपाली काँग्रेस बागलुङमा विभिन्न पदका आकांक्षीहरुले आ—आफ्नो उम्मेदवारी घोषणा गर्ने र आफ्नो पक्षमा मत माग्ने अभियानलाई तिब्र बनाएका छन् ।
बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सभापतिका संस्थापन पक्षका उम्मेदवारहरुले शुक्रबार काठेखोला गाउँपालिका—१ पालाको सहीद स्मृति पार्कबाट औचापरिक रुपमा प्रचार अभियान सुरु गरेका छन् । संस्थापन पक्षका प्रतिनिधि क्षेत्र नम्बर १ का सभापति उम्मेदवार खडक बहादुर थापा प्रदेश सभा ‘क’ का उम्मेदवार हरिबहादुर जिसी सन्तोष तथा प्रदेश ‘ख’ का उम्मेदवार धनबहादुर शाही विकासले शहिदलाई साक्षी राखेर संस्कार सहितको गतिशील काँग्रेस बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफुहरुलाई विजयी बनाउन आग्रह गरे ।
प्रतिधिनिध सभा क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार खडक बहादुर थापाले शहिदहरुको सम्मानका लागि अभिलेख राख्ने र काँग्रेसलाई सबैको भरलाग्दो र रहरलाग्दो बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले राजनीतिलाई पेशा नभई सेवाको रुपमा विकास गर्ने र राजनीतिक योगदानका आधारमा दक्षता र क्षमता हेरेर सबैलाई उचित भूमिका दिने समेत बताए । शहिदहरुको पावन भूमिबाट पार्टीलाई सबल र सक्षम बनाउने उनले घोषणा गरे ।
कार्यक्रममा नेपाली काँग्रेस काठेखोला गाउँपालिका सभापति यामदत्त कँडेल, क्षेत्रीय सदस्य प्रकाश राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाली काँग्रेस पालाका उपभापति छत्रबहादुर खड्काको अध्यक्ष तथा क्षेत्रीय प्रतिनिधि रनबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।