
बागलुङ, २० असोज । बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेल मन्त्री बन्ने निश्चित भएको छ ।
नेकपा माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले तीन जना मन्त्री र १ राज्यमन्त्री टुंगो लगाएको छ । स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।
प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।
माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा १० वर्ष भूमिगत भएका पौडेल २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए ।
भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनी पनि गए । तर भदौ २०७४ मा माओवादी केन्द्रमै फर्किए । २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भए ।
पछिल्लो पटक गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने क्रममा उनले संक्रियतापूर्वक भूमिका खेलेको नेताहरु बताउँछन् । अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।