![11]](https://khabarway.com/wp-content/uploads/2021/10/11-696x472.jpg)
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १९ असोज । बागलुङको एक निजी विद्यालयमा व्यवस्थापकीय कमजोरीको कारण विद्यार्थीहरु गम्भीर खालका दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्यूचर ब्राईटर माध्यमिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएको हो ।
सोही विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक्षाका दुई साथीलाई पेन्सीलले कोपेर घाईते गराएका छन् । गतअसोज ७ गते आयुस आचार्यको आँखामा पेन्सीलले कोपेको घटना सेलाउन नपाउँदै सोमबार सोही कक्षाका आदर्श सापकोटालाई बेन्चमा बस्ने क्रममा पेन्सील राखिदिदा सापकोटाको अण्डकोषमा चोट लागेको छ ।
चोट लागेका सापकोटाको बागलुङ बजारको एक निजी क्लिनिकमा उपचार गरिएको छ । पेन्सीलले कोपिएर घाईते भएका सापकोटाको जाङगे रतले भिजेको थियो । बच्चाहरु विद्यालयमा असुरक्षित बन्दै गएको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । यस अघिपनि यस्ता घटना भैरहँदा समेत विद्यालय गम्भीर बन्न नसकेको अभिभावकहरुको गुनासो रहेको छ ।
फ्यूचर ब्राईटर माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माले कमजोरी भएको भन्दै आगामी दिनमा घटना दोहोरिन नदिने बताउनुभयो ।
बागलुङको फ्यूचर ब्राइटर माध्यमिक विद्यालयमा मात्र नभइ अन्य विद्यालयमा पनि घटना घट्ने गरेका छन् । पूर्वप्राथमिक तहका बालबालिकाहरुले प्रयोग गर्ने पेन्सीलको लिडबाट स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले सचेत हुनुपर्ने बालरोग विषेशज्ञ डाक्टर विधान घिमिरेले बताउनुभयो ।