
बागलुङ, १८ असोज । नेकपा (एकीकृत समाजवादी) बागलुङले पार्टी स्कूल सञ्चालन गर्ने भएको छ ।
पार्टीको शनिबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले नेता तथा कार्यकर्तालाई हरेक हप्ता नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभयो ।
जिल्ला कमिटीले गरेको निर्णयहरुको जानकारी गराउँदै आईतबार पत्रकार सम्मेलनमा पार्टी सचिव भरत पुरीले जिल्ला कमिटी सदस्य तथा मातहत कमिटी एवं जनसंगठनका सदस्य, पार्टी सदस्यहरुको साप्ताहिक रुपमा पार्टी स्कूल सञ्चालन गर्न लागिएको बताउनुभयो ।
यस्तै पार्टीले प्रत्येक महिना जुम मार्फत जिल्लास्तरमा बैठक तथा प्रशिक्षण समेत गर्ने निर्णय गरेको छ । अध्यक्ष थापाले सानो भएपनि मजबुत र विचारले खारिएको पार्टी निर्माणमा लागेको बताउनुभयो । उहाँले पार्टी स्कूलमा पार्टीको सिद्धान्तको बारेमा र कम्युनिष्ट सिद्धान्तको बारेमा जानकारी गराइने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादी बागलुङले जनवादी कला र साहित्यको विकासका लागि कार्यक्रमहरु बनाउने, जनवादी गीतहरु रचना गर्ने र गराउने तथा आफ्नो तहमा सांगीतिक समूहहरु गठन गर्ने समेत निर्णय गरेको छ । यस्तै बैठकले सबै जनसंगठन र पेशागत संगठनहरुको ३ महिनाभित्र जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको छ ।
एक जिल्ला सदस्य बराबर २० जना पार्टीका क्रियाशिल सदस्य बनाउने अभियान सञ्चालन गर्ने थापाले बताउनुभयो । फुट्नुअघि एमालेमा क्रियाशील रहेका सदस्यहरुलाई स्वतः सोही मितिबाट पार्टीको सदस्य कायम हुनेगरी नविकरण गर्ने नीति बैठकले बनाएको छ । नविकरण गर्द सदस्यता शुल्क अनिवार्य नगरिएकोले अध्यक्ष थापाले बताउनुभयो ।









