
बागलुङ, १५ असोज । जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले बेथिति र भ्रष्टचारको अन्त्य अफैबाट गर्नुपर्ने बताउनुभएको छ ।
नगरपालिकाले बिहिबार गत आर्थिक वर्ष २०७७/०७८ मा सम्पादन गरेका काम र सेवा प्रवाहका विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।
नगरपालिकाले पालिका स्तरबाट भएका कामका बिषयमा सर्वसाधारणमा रहेका सन्तुष्टी र असन्तुष्टीबारे बुझ्नसार्वजनिक सुनुवाई गरिएको थियो । उक्त कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै नगरप्रमुख पौडेलले विधि विपरितका काम नगरपालिकाबाट नभएको भन्दै प्रमाणि सहित अनियमितता भएको जुनकुनै काम फेला पारेमा तत्काल कारवाही गरिने बताउनुभयो ।
उहाँले सार्वजनिक सुनुवाई कार्यक्रमले कहाँ कहाँ गल्ती भयो भनेर सुधारको मौका पाएको समेत बताउनुभयो । नगरप्रमुख पौडेलले जैमिनी नगरपालिका गण्डकी प्रदेशकै पाँचौं सुशासन कायम गर्न सफल पालिका भएको दाबी समेत गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रमममा स्थानीयहरुले सडकको दुरावस्था, सवारी साधनको मनलाग्दी भाडादर, बजार अनुगमन कर्मकाण्डी भएको, अनुगमन नै नगरी योजनाहरुको बजेट भुक्तानी हुने गरेको, सुकुम्बासी समस्या, पालिकाले कतिलाई रोजगारी सिर्जना गर्यो, कृषि तथा पशुपालनका क्षेत्रमा भएका लगानीबाट प्रतिफल नआएको भन्दै जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई जवाफ माग गरेका थिए ।
उनीहरुले कुश्मीसेरा बजारमा सडकबक्ति जडानको लागि उपभोक्ता समिति गठन गरेपनि पछि नगरपालिकाले समय ढिला भएको भन्दै आफै गरेको र अहिले उक्त बत्ति बल्न छोडेको भन्दै आक्रोस पोखेका थिए । यस्तै उनीहरुले टुनिबोटमा पहिरोले क्षेत्री पु¥याएको घर उच्च जोखिममो सुचिमा नपरेको र केहि पनि नभएको घर जोखिममा परेको भन्दै स्पष्टिकरण माग गरेका थिए ।
कार्यक्रममा नेकपा एमलेका नेता रुद्र आचार्य, नेपाली काँग्रेसका प्रेमप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका शोभाप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका ठाकुर प्रसाद शर्माा, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुणेन्द्र सापकोटा, स्थानीयहरु आनन्द अमै, डिल्लीप्रसाद शर्मा, तिलक बहादुर थापा, छाया चापागाई लगायतले प्रश्न राख्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा पत्रकार प्रकाश बरालले टिप्पणी राख्नुभएको थियो ।
जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रमको स्वागत उपप्रमुख लिला राना र संचालन पत्रकार तारानाथ आचार्यले गर्नुभएको थियो ।