मैले बनाएका मन्त्री सबै दलाल भए: प्रचण्ड

काठमाडाैं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट आफूले मन्त्री बनाएकाहरू सबै दलाल बनेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा पार्टीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफूले मन्त्री बनाएकाहरूको दलालसँग साँठगाँठ रहेको बताएका हुन् । ‘जो जतिलाई मैले मन्त्री बनाएँ, ती सब पतन भए,’उनले भने ।

पार्टीभित्र पद नपाए रोइलोको अवस्था रहेको प्रचण्डको भनाइ छ । ‘पार्टीमा पद नपाए रुने, पैसा नपाए रुने र मन्त्री नपाए रुने अवस्था सिर्जना भयो,’ प्रचण्डले भने ।

माओवादी केन्द्रले हाल दुई जनालाई मात्रै सरकारमा पठाएको छ । अर्थमन्त्रीका रूपमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाललाई पठाएको हो । प्रचण्डले अन्य मन्त्री छनोट गर्न सकेका छैनन् । मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना भइरहेको समयमा उनले आफ्नो पार्टीभित्र मन्त्री नपाए रुने अवस्था सिर्जना भएको बताएका हुन् ।

यसअघि उनले सबैलाई मन्त्री चाहिएकाले छनोटका लागि आफूलाई तनाव भएको बताएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here