शरीरमा १९ वर्षदेखि बमको छर्रा तर गरीबलाई माओवादीले पनि हेरेनन्

दैलेख, ९ असोज । दैलेखको नौमुले गाउँपालिका–३ जैशीडाडाँकी सुना सुनार हेर्दा सामान्य देखिन्छिन् तर उनले भोगेको पीडासुन्दा जोकसैको आङै सिरिङ हुन्छ ।

२०५९ साउन २१ गते सुना र उनका श्रीमान् भैंसीलाई घाँस काट्न मकै बारीमा गएका थिए । नौमुले तत्कालीन माओवादीको हेडक्वाटर मानिन्थ्यो, उनीहरूको उपस्थिति बाक्लो थियो ।

माओवादीले जैशीडाँडामा कार्यक्रम गर्दै थिए । तत्कालीन शाही नेपाली सेनाको हेलिकप्टर पुग्यो र आकाशबाट अन्धाधुन्धा बम खसाल्न थाल्यो । घाँस काट्दै गरेका सुनाका दम्पती बम लागेर घाइते भए । मकै बारीमै ढले । माओवादीले तत्कालै उनीहरूको प्राथमिक उपचार गरे तर सञ्चो भएन ।

गाउँमा केही ऋण खोजेर थप उपचारको लागि सुनाका श्रीमान् र आफन्तले सुनालाई दैलेख सदरमुकाम हुँदै नेपालगञ्ज पुर्‍याए तर उनको उपचार हुन सकेन । कारण थियो सुना ७ महिने गर्भवती थिइन् ।

सामान्य औषधि उपचारपछि सुना घाइते शरीर लिएर गाउँ फर्किइन् । गाउँमै छोरी जन्माइन् । अहिले छोरी लालसरा सुनार १८ वर्षकी भइन् । सुना भने घाइते शरीरले बालबच्चाको हेरचाह गरिहेकी छन् ।

अझै पनि उनको शरीरमा रहेको बमको छर्रा निकालिएको छैन ।

घरको आर्थिक अवस्था कमजोर भएकाले पीडा खेप्नुबाहेक अर्को विकल्प नरहेको पीडित परिवारको दुखेसो छ । ‘हामी गरबि भयौं हामीलाई कसैले हेरेन । उपचार गर्न जाऊँ भने घरमा खाने खर्च छैन,’ उनी भन्छिन् ‘१८ वर्षदेखि शरीरमा घाउ पालेर बसेकी छु ।’

गरीबका लागि सरकारसँग लडेको माओवादीले समेत बेवास्ता गरेको उनको गुनासो छ । ‘हामी तिमीहरूकै लागि लडेका हौं भन्दै आउने माओवादीले त हामीलाई बिर्सिए अरुको केको भर ?’ उनले भनिन् । यसो भनिरहँदा सुनाका आँखामा आँसु छचल्किएका थिए । आँसु पुछ्दै भनिन्, ‘छोरीको समस्या पनि उस्तै छ, औषधि खानुपर्छ पैसा छैन ।’

बमको छर्राका कारण अहिले लालसरा सुनार समेत बिरामी छन् । जन्मेको लामो समयसम्म उनी उभिन सकिनन् । रिंगटा लाग्छ । श्वासप्रश्वासमा समस्या छ । श्वास फेर्न गाह्रो हुन्छ तर लालसरा बाँच्न चाहन्छिन्, ‘बुढो बा र घाइते आमाको बिसन्चो शरीरको साथमा बसेर जेनतन भाइबहिनी पालेको छु ।’

छोरी लालसराले भनिन्, ‘मेरो र आमाको उपचार कसैले गरिदिए भाइबहिनीलाई पढाएर जागिर खुवाउने थिएँ ।’

अहिलेसम्म सुनाले कतैबाट पनि राहत रकम पाएकी छैनन् । उनलाई न शान्ति समितिले राहत दियो, न कुनै एनजीओ, आईएनजीओले । घाइते शरीरको पीडा सहँदै आफूले बालबच्चाका लागि बाध्यतावश काम गर्नुपरेको सुनाइन् । ‘काम नगरी सुखै छैन । दिउँसो काम गरेसी राति सुत्न सक्दिनँ,’ उनले भनिन् । राजधानी दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here