नेकपा एसमा सनाखत गरेका वडाअध्यक्षलाई एमालेको सचिवालय सदस्य उपहार !

याम बहादुर श्रीस

बागलुङ, ५ असोज । नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका बागलुङका एक वडाअध्यक्षलाई नेकपा एमाले जिल्ला कमिटी बागलुङले सचिवालय सदस्यमा मनोनित गरेको छ ।

नेकपा एमाले बागलुङले आईतबार पत्रकार सम्मेलन गरि पार्टी विभाजनमा लागेको भन्दै पार्टी कमिटी सदस्य र नेकपा एसमा सनाखत गरेका जनप्रतिनिधिहरु गरि ११ जनालाई पार्टीबाट निस्कासन र पार्टीको अभिलेखबाट नाम हटाएको बताएको थियो । एमालेले नेकपा एसमा सनाखत गरेको भन्दै तीन जना जनप्रतिनिधिलाई कारवाही गरेपनि एक जना जनप्रतिनिधिलाई भने जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यमा मनोनित गरेको छ ।

नेकपा एसमा सनाखत गरेका काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका वडाअध्यक्ष याम बहादुर श्रीसलाई एमाले बागलुङले जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यमा मनोनित गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेपनि उहाँ एमालेमा फर्किने बताएकाले जिल्ला कमिटी र सचिवालय सदस्यमा मनोनित गरेको नेकपा एमाले बागलुङका सचिव विष्णु भुसालले बताउनुभयो । एमालेले १० बुँदे कार्यान्वयनसँगै पहिले नेकपा एसमा लागेपनि अहिले कमजोरी महशुस गरेमा पार्टीमा जिम्मेबारी दिने केन्द्रीय कमिटीको निर्देशन भएकाले वडाअध्यक्ष श्रीसलाई जिल्ला कमिटी सदस्य र सचिवालय सदस्यमा मनोनित गरेको सचिव भुसालले बताउनुभयो ।

प्रदेश कमिटी सदस्य हिरा केसीसँग वडाअध्यक्ष श्रीसले आफुले कमजोरी गरेकोले पुनः एमालेमा फर्किन चाहेको जानकारी गराएपछि मनोनित गरेको सचिव भुसालको भनाई छ । ‘प्रदेश कमिटी सदस्य हिरा केसीले उहाँसँग कुरा गर्नुभएको हो । उहाँले नै एमालेमा फर्किने बताएकोले हामीले सचिवालय सदस्यमा मनोनित गरेका हौं,’ सचिव भुसालले भन्नुभयो–‘श्रीस नेकपा एसमा रहने र एमालेको बैठकमा नआएमा उहाँलाई पछि कारवाही गरेर एमालेको अभिलेखबाट नाम हटाउनेछौं ।’

उता, वडाअध्यक्ष श्रीसले आफु अहिले पनि नेकपा (एकीकृत समाजवादी)मै रहेको बताउनुभयो । उहाँले एमालेमा चरम गुटबन्दी रहेको र त्यसको असर तल्लो तहसम्म पर्दा गुटबन्दीको सिकारमा आफु पनि परेकोले एमाले परित्याग गरि नेकपा एसमा लागेको बताउनुभयो । ‘एमालेमा चरम गुटबन्दी छ,’ वडाअध्यक्ष श्रीसले भन्नुभयो–‘त्यो गुटबन्दी तल्लो तहसम्म परेको छ र आफु पनि गुटबन्दीको सिकारमा परेकोले पार्टी परिवर्तन गरेर नेकपा एसमा सनाखत गरेको हुँ ।’

वडाअध्यक्ष श्रीसले आफु एमालेमा नफर्किएको र अहिले नेकपा एसमै रहेको बताउनुभयो । ‘म अहिले पनि नेकपा एकीकृत समाजवादीमै छु,’ वडाअध्यक्ष श्रीसले भन्नुभयो–‘सनाखत गरेर पार्टी परिवर्तन गरेपछि उहाँहरुले किन जिल्ला कमिटी र सचिवालय सदस्यमा मनोनित गर्नुभयो थाहा भएन ।’

वडाअध्यक्ष श्रीसले आफुलाई पुनः पार्टीमा फर्किन एमालेका नेताहरुले आग्रह भने गरेको बताउनुभयो । ‘नेकपा एमालेका साथीहरु आउनुभएको थियो,’ वडाअध्यक्ष श्रीसले भन्नुभयो–‘पार्टीको अवस्था के हुन्छ थाहा छैन, एमालेमै फर्किनुस् भन्नुभएको हो तर मैले नेकपा एस रोजेकोले अहिले फर्किदिन भनेको हुँ ।’ एमालेका नेताहरुले जिल्ला सदस्य र सचिवालय सदस्यमा मनोनित गर्ने बताएपनि आफुले उक्त पद नचाहिएको र अहिले नेकपा एसमा रहेकोले एमालेमा नफर्किने बताएको वडाअध्यक्ष श्रीसको भनाई छ ।

नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका बागलुङका स्थानीय तहका जनप्रतिनिधिहरु ।

एमाले बागलुङले पार्टी विभाजनमा लागेको भन्दै नेकपा एसमा सनाखत गरेका बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन आचार्य, कार्यपालिका सदस्य सिता थापा र ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष हरि घर्तीलाई पार्टीबाट निस्कासन र पार्टीको अभिलेखबाट नाम हटाउने निर्णय गरेको छ । तर नेकपा एसमा सनाखत गरेका जैमिनी नगरपालिका कार्यपालिका सदस्य बल बहादुर नेपाली, ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडासदस्य यामु कामी र बागलुङ नगरपालिका वडा नम्बर २ का वडासदस्य सुरज बोसेलको बारेमा भने केहि बोलेको छैन् ।

एमाले बागलुङका सचिव भुसालले नेकपा एसमा लाग्नुभएका केहि जनप्रतिनिधिहरु पार्टीमा फर्किने कुरा भइरहेकोले कारवाही नगरेको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here