
बागलुङ, ३० भदौ । रोजगारीको सिलसिलामा जापानमा रहनुभएका गलकोट नगरपालिका–७ मल्मका दुर्गा थापा र कल्पना थापा खड्काले आफ्नी दिवङ्गत आमा रुपाकुमारीको वार्षिक पुण्यतिथीका अवसरमा आज यहाँस्थित मानवसेवा आश्रममा रहनुभएका सहयोगापेक्षी नागरिकलाई भोजन सेवा उपलब्ध गराउनुभएको छ ।
आश्रममा रहनुभएका ४८ जना आश्रितजनलाई थापाका आफन्तजन ललिता, टीका, रुपा र रामले बिहानको भोजन वितरण गर्नुभएको थियो । थापा र उहाँकी दिदी कल्पना भने अहिले जापानमै हुनुहुन्छ । आमाको स्मृतिलाई मानवीय सेवामा जोड्ने हेतुले आश्रमलाई सहयोग गरेको थापाले टेलिफोनमा सुनाउनुभयो ।
भोजन सेवाका लागि थापाले रु. दश हजार आर्थिक सहयोग उपलब्ध गराउनुभएको आश्रमका सेविका बिपना तामाङले जानकारी दिनुभयो । उहाँले आश्रमको सहयोगी बन्नुभएकोमा थापा र उहाँको परिवारप्रति आभार व्यक्त गर्नुभयो ।
जापानमा रेष्टुराँ व्यवसाय गर्दै आउनुभएका थापाले आश्रमका लागि थप व्यवस्थापकीय सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । आश्रमको निर्माणाधीन भवनमा पनि सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।
अलपत्र, दिनदुःखी र अशक्त नागरिकको सहारा बन्दै आएको आश्रम दाताहरुको सहयोगकै भरमा चल्दै आएको छ । सङ्घ, गण्डकी प्रदेश सरकार, बागलुङ नगरपालिकालगायतको सहयोगमा आश्रमको आफ्नै भवन बन्दैछ । आश्रमले बागलुङलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला’ घोषणाको तयारीसमेत थालेको छ ।
आश्रमले हालसम्म सडकमा अलपत्र परेका सयौँ व्यक्तिलाई उद्धार गरिसकेको छ । कतिपयको परिवारसँग पुनःमिलनसमेत भएको छ । स्थानीय अभियन्ता तथा स्वयंसेवी युवाहरुको पहलमा विसं २०७२ मा यहाँ आश्रम खोलिएको थियो ।











