कसरी जोगाउने कोरोना संक्रमणबाट बालबालिकालाई ?

काठमाडौं, २९ भदौ । कोरोना संक्रमणको बेला घरभित्रै सीमित ८ वर्षीय सुशान्त सुवेदीको स्कुल फेरिएको छ । संक्रमणअघि काठमाडौंको निजी स्कुलमा पढ्थे । अहिले धादिङ, गंगाजमुनास्थित सरकारी स्कुलमा पढ्छन् ।

कक्षा ३ मा अध्ययनरत छोरालाई स्कुल पठाउँदा अभिभावकको मुहारमा चिन्ता छाउँछ। बुवा नेत्रबहादुर भन्छन्, ‘स्कुल नपठाउँदा पढाइ झन् बिग्रन्छ। पठाउँदा पनि संक्रमण हुन्छ कि भन्ने डर छ ।’ स्कुलमा साथीहरू खाजा बाँडेर खाने हुन् कि, भौतिक दूरी कायम नगर्ने हुन् कि भन्ने भय रहिरहने उनले सुनाए ।

स्थानीय तहले विद्यालय भवन एवं परिसर निर्मलीकरण गरेर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । विद्यालयसम्बन्धी कार्यढाँचा, २०७७ अनुसार, स्थानीय तह र विद्यालयले बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधार (फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवत–जावत गर्न सक्ने कोठा आदि) को व्यवस्था गर्नुपर्छ । त्यस्तै स्वास्थ्य र सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर तथा विद्यालय आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्नुपर्छ ।

डिजिटल संसारमा सक्रिय रहेका बालबालिका झोला बोकेर स्कुल जान थालेका छन् । तर, केन्द्र र स्थानीय सरकारको फरक–फरक नीति र निर्णयले स्कुल खुलेपछि अभिभावकहरू ढुक्क हुन सकेका छैनन् । नेपालमा कोरोनाबाट ५४ हजारभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा. गणेशकुमार राईका अनुसार शिशुभन्दा स्कुल जाने उमेरका बालबालिका संक्रमणको जोखिममा छन् । अभिभावकबाट बालबालिकामा सर्ने जोखिम रहेकोमा अब साथीहरू र शिक्षकबाट पनि कोरोना संक्रमण हुन सक्ने डा. राई बताउँछन् ।

मुलुकमा पहिलो लहरमा १९ वर्षमुनिका २० हजार ८ सय ६४ जनामा कोरोना भयो। जसमध्ये १०–१९ वर्षका १७ हजार ७ सय ५८ छन् ।

त्यस्तै ५–९ वर्षको उमेर समूहका ३ हजार ७ सय २३ जन्मेदेखि चार वर्ष उमेर समूहका २ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमणबाट पहिलो लहरमा ३८ जना बालबालिकाको ज्यान गएको थियो ।

के छ चुनौती ?
जनस्वास्थ्यको मापदण्ड पालना गराउने पहिलो चुनौती छ । त्यस्तै उपचारका आवश्यक जनशक्ति न्यून रहेको र त्यो पनि सहरकेन्द्रित रहेकाले व्यवस्थापनमा चुनौती देखिएको छ । मुलुकमा एक मात्र केन्द्रीय बाल अस्पताल छ ।

बाल चिकित्सक समाजका अध्यक्ष डा. राईकाअनुसार बालबालिकाको लागि शय्या र उपकरणको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको छ। भेन्टिलेटर पनि छुट्टै चाहिन्छ । जनशक्तिको पनि अवस्था न्यून छ । ‘भेन्टिलेटर दाताले सहयोग गर्ला । बेड पनि बनाउला। चिकित्सक र नर्सको व्यवस्थापन कसरी गर्ने ?’ उनले प्रश्न गरे ।

एमबीबीएस उत्तीर्ण चिकित्सक, स्टाफ नर्स र स्वास्थ्य सहायकहरू अस्थायी रूपमा नियुक्त गर्नुपर्ने डा. राईको सुझाव छ । विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवद्र्धन गर्ने विद्यालय बनाउने संकल्प गरेका छन् । नेपालले आयोजना गरेको कार्यकारी समितिको वार्षिक बैठकमा सदस्य राष्ट्रहरूले महामारीको दौरान पनि सुरक्षित तरिकाले विद्यालयहरू सञ्चालन गर्नुपर्ने आवश्यकताका बारेमा पनि विचार विमर्श गरेका थिए । अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here